श्रमिक दिवसबारे श्रमिक नै अनभिज्ञ
साझा बिसौनी संवाददाता
सुर्खेत, २३ फागुन ।
खोला किनारको सानो बस्ती । त्यही बस्तीमा छन् करिब एक सय घरधुरी, वादी समुदाय । बिहानदेखि बेलुकासम्म खोला किनारको बालुवा र पानीसँग खेल्नु उनीहरूको दिनचर्या हो । पानीसँग खेल्दै ढुङ्गा र बालुवा निकाल्छन् । गिट्टी कुट्छन् । त्यही बेचेर जीविकोपार्जन गर्छन् ।
हरेक दिन श्रम गरेरै जीविकोपार्जन गर्दै आइरहेका वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ झुप्रा खोलाका वादी बस्तीका नागरिक प्रत्येक वर्ष मनाइने श्रमिक दिवसका बारेमा भने अनभिज्ञ छन् । हरेक ८ मार्चमा पर्ने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा देशभर तथा विदेशमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहँदा यहाँका महिलाहरूले भने दिवसका बारेमा जानकारी नै नभएको बताएका छन् । बिहीवार अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक कर्णाली प्रदेश तथा वातावरणीय कृषि तथा विकास केन्द्र केड नेपालको संयुक्त आयोजनामा गरिएको अन्तर्रक्रिया कार्यक्रममा झुप्राका महिलाहरूले आफूहरूलाई दिवसको बारेमा थाहा नभएको बताए ।
१०९ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थानीय पार्वती बादिले यो दिवस किन र कसले मनाउने भन्ने बारेमा आफूहरूलाई थाहा नभएको बताइन् । उनले भनिन् ‘हाम्रो पहुँचमा न रेडियो छ न पत्रिका । नत कसैले यो दिवसको अवसरमा कहिल्यै कार्यक्रमको आयोजना गरेका थिए । हामीहरूलाई यस्ता दिवसको बारेमा केही जानकारी छैन ।’
कार्यक्रममा बोल्दै रामकुमारी वादीले पनि आफ्नो दिनचर्या खोलाको बालुवासँग बित्ने भएकोले पनि यो दिवसको बारेमा जानकारी नभएको बताइन् । कार्यक्रममा सहभागी अधिकांश वादी समुदायका महिलाहरूले श्रमिक महिला दिवस केहो भन्ने बारेमा नै थाहा नपाएको गुनासो गरेका थिए ।
सोही अवसरमा केड नेपालकी वकालत अधिकृत लक्ष्मी चन्दले महिलाहरूको पाठेघर खस्ने समस्याका बारेमा समेत जानकारी दिएकी थिइन् । कार्यक्रममा करिब ७० जना वादी महिलाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी वादी समुदायका महिलाहरूले आफूहरूलाई राज्यले आधारभूत आवश्यकताबाटै वञ्चित गरेको गुनासो समेत गरेका छन् । पानी, बत्ती तथा सञ्चारको सुविधाबाट समेत वञ्चित हुनु परेको उनीहरूको गुनासो छ ।
साझा बिसौनी संवाददाता ।