खस–आर्यलाई आरक्षणः थापा

साझा बिसौनी संवाददाता
सुर्खेत, २३ फागुन ।
नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले खस आर्य तथा ब्राहमण र क्षेत्री समुदायलाई पनि आरक्षणको सुविधा दिनुपर्ने माग गरेका छन् । पार्टीको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा अन्तर्गत बिहीवार वीरेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।
जातीय विभेद गर्न नहुने भन्दै उनले अन्य जातिहरूलाई दिइए सरह आरक्षण खस–आर्यहरूलाई पनि दिनुपर्ने बताए । शिक्षा र रोजगारको क्षेत्रमा जातीय आधारमा आरक्षण र अवसर दिने गरिएको तर ती जातहरूमा नपरेका कारण कयौं गरीबहरू पनि अवसरबाट वञ्चित भएको थापाको तर्क थियो । ‘गरीब भएर पनि खस–आर्य, बाहुन, क्षेत्रीहरूले आरक्षण पाएका छैनन्’ उनले भने, ‘हाल रहेको आरक्षणलाई कायम गर्दै त्यसमा नपरेका जातीय समुदायलाई पनि आर्थिक अवस्थालाई मूल्यांकन गरेर शिक्षा, स्वास्थ्य र रोजगारमा १० प्रतिशत अनिवार्य आरक्षण दिनुपर्ने माग गर्दछौं ।’
साथै उनले भ्रष्टाचार अन्त्यका लागि सबै उच्च पदस्थ स्थानमा रहेका कर्मचारीहरूको सम्पत्ति छानविन गर्नुपर्नेमा पनि जोड दिए । अवैध रूपमा कमाएको सम्पत्ति जफत गर्नुपर्ने थापाको भनाइ थियो ।
उनले हिन्दु राष्ट्रको पुनस्र्थापना राप्रपाको मात्र नभइ आम नेपाली जनताको माग भएको बताए । राज संस्थासहितको लोकतन्त्र राप्रपाको प्रमुख एजेण्डा भएको समेत थापाले बताए । कार्यक्रममा राप्रपाका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २४ फाल्गुन २०७५, शुक्रबार १३:३१