कार्यसूची तय नहुँदा बैठक स्थगित

साझा बिसौनी संवाददाता
सुर्खेत, २२ फागुन ।
कर्णाली प्रदेशको संसद बैठक चार दिन पछाडि सरेको छ । बुधवार आव्हान गरिएको संसद बैठक स्थगित गरी चार दिन पछाडि सारिएको हो ।
संसदमा पेश हुने विषय वस्तुबारे छलफल गर्न आव्हान गरिएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा गणपूरक संख्या नपुगेपछि संसद बैठक सरेको हो । तेस्रो अधिवेशनको तेस्रो बैठक बुधवार दिउँसो एक बजे आव्हान गरिएको थियो । तर, कार्यव्यवस्था परामर्श समितिमा बैठक बस्न नसक्दा छलफलको कार्यसूची नै टुङ्गो लाग्न सकेन । कार्यव्यवस्थामा नेकपा, कांग्रेस, राप्रपाको प्रतिनिधित्वसहित नौ सदस्यीय समिति रहेको छ । बुधवार बिहान बोलाइएको समितिको बैठकमा नेकपाका दुई जना सदस्य उपस्थित नहुँदा गणपूरक संख्या नपुगेको जनाइएको छ ।
‘सत्ता पक्ष नेकपाको संसदीय दलको बैठक बसेकाले कार्य व्यवस्थामा प्रतिनिधित्व गर्ने सदस्यहरूको उपस्थिति भएन’ समितिका सदस्य दिनबन्धु श्रेष्ठले भने, ‘सदनमा पेश भएका विधेयकमाथिको छलफलका लागि मात्रै वैठक आव्हान हुन सकेन ।’ सरकारले सदनमा पेश गर्न तयार पारेका विधेयकहरू पनि सच्याउनुपर्ने भएकाले पनि विजनेश अभाव देखिएको उनले जानकारी दिए । कार्यसूची तय नभएपछि संसद सचिवालयले सूचना टाँस गरी बैठक स्थगित भएको जानकारी दिएको थियो ।
सभामुख राजबहादुर शाही दिएको जानकारी अनुसार आगामी २६ गते दिउँसो एक बजेसम्मका लागि बैठक स्थगित भएको छ । ‘प्राविधिक कारणले बैठक स्थगित भयो’ उनले भने, ‘कार्य व्यवस्थाको बैठकले आगामी कार्यसूची तय गर्छ र बैठक बस्छ ।’

प्रकाशित मितिः   २३ फाल्गुन २०७५, बिहीबार १३:२६