‘महोत्सवले कर्णालीको कला उजागर गर्नेछ’
आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा रारा राष्ट्रिय नाटक महोत्सव हुँदैछ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाँचघर) काठमाडौंको मूल आयोजना तथा आरङ्ग नेपाल सुर्खेतको स्थानीय आयोजनामा हुन लागेको यो महोत्सव फागुन २३ गतेदेखि २९ गतेसम्म सञ्चालन हुँदैछ । सुर्खेतमा पहिलो पटक आयोजना हुन लागेको राष्ट्रियस्तरको नाटक महोत्सवका विषयमा हामीले स्थानीय आयोजक संस्था आरङ्ग नेपालका अध्यक्ष गणेशभक्त गौतमसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, उक्त कुराकानीको अंशः
नाटक महोत्सवको तयारी कस्तो भइरहेको छ ?
नाटक महोत्सवको तयारी सकिएको छ । महोत्सवमा प्रदर्शन हुने नाटक छनौट भइसकेका छन् । कलाकारहरू सुर्खेत आउने क्रम जारी छ । सबै प्रदेशहरूबाट कलाकारहरू एकै पटक आउँदैनन् । प्रत्येक प्रदेशबाट दुई वटा नाटक छनौट भएका छन् । पालो अनुसार कलाकारहरू प्रस्तुतीको अघिल्लो दिन यहाँ आइपुग्ने र प्रदर्शन सकिएपछि जाने पक्रिया चल्नेछ । यहाँ रङ्गमञ्च निर्माणका लागि प्राविधिक टोलीले काम गरेको छ ।
सुर्खेतमा यो नाटक महोत्सव आयोजनाको अवसर कसरी जुट्यो ?
सुर्खेत कर्णाली प्रदेशको राजधानी पनि भयो । नाट्य क्षेत्रमा त्यति राम्रो इतिहास सुर्खेतमा नभए पनि खस राज्य, भाषा र सिँजा साम्राज्यसँग सम्वन्धित छ । भाषा, संस्कृतिको उद्गम थलो भएकाले यसको आफ्नै खालको महŒव छ । यहाँ नाटकको एक शताब्दी पुरानो इतिहास छ । कटुवामा यसअघि नाटक प्रस्तुत भएको पाइन्छ । नाट्य क्षेत्रमा सुर्खेतका कलाकारहरू आफ्नो पकड बनाएर बसेका छन् । त्यसकारणले गर्दा संस्कृतिक संस्थाको प्रस्ताव आयो र हामी किन नगर्ने त भनेर तयारी थालेका हौं । एक आपसी सहयोग र समन्वयबाट तय भएको हो ।
महोत्सवमा के–के हुँदैछ ?
महोत्सवमा मुलुकभरबाट छनौट भएका उत्कृष्ट नाटक मञ्चन हँुदैछन् । दिनको दुई वटा नाटकका दरले प्रतियोगिताका सहभागीबाट १२ र एक वटा आयोजकको तर्फबाट गरी १३ नाटक प्रस्तुत हुनेछन् । कार्यशाला गोष्ठी, नाटकसँग सम्बन्धित विषय विज्ञहरूसँग छलफल हुन्छ । कार्यपत्र प्रस्तुत, छलफल, फोटो प्रदर्शनी लगायतका गतिविधि महोत्सव अवधिभर हुनेछन् ।
महोत्सवको मूल उद्देश्य के हो ?
राजधानी भन्दा बाहिर नाटक गतिविधिहरू सेलाइरहेको अवस्थामा नेपाली नाटकको मोफसलमा माहोल बनाउने, विकास गर्ने उद्देश्य हो । प्रदेश सरकारले कर्णाली–रारा पर्यटन वर्ष मनाइरहेका बेला त्यसमा पनि टेवा पु¥याउने लक्ष्य हो । नाटक कस्तो हुन्छ, सुर्खेती दर्शकहरूले रङ्गमञ्चमा नाटक कसरी प्रस्तुत हुन्छ भन्ने कुराहरू पनि स्वाद पाएको अवस्था छैन । त्यो अवसर पनि यहाँका दर्शकले पाउनेछन् । देशभरीका नाटक एकै ठाउँमा प्रदर्शन हुने भएकाले नेपाली नाटकले गति लिन्छ भन्ने अपेक्षा राखिएको हो ।
यसले सुर्खेत र समग्र कर्णालीको रङ्गमञ्चमा कस्तो प्रभाव पार्ला ?
यहाँको मौलिक लोक गाथा, संस्कृति उजागर गर्न महोत्सवले योगदान गर्ने छ । प्रदेश सरकारले छुट्टै नीति बनाएर काम गर्नुपर्छ भन्ने सन्देश दिनुपर्छ । कला संस्कृति र मौलिक पन जोगाउन दीर्घकालीन गुरुयोजना बनाएर अगाडि बढ्नुपर्छ । यो महोत्सवबाट यहाँको कला संस्कृति यस्तो रहेछ, पहिचान यो रहेछ भन्ने कुरा पनि मनन गर्नेछन् ।
कर्णालीका जिल्लाहरूमा नाटक प्रदर्शनीका लागि थियटरहरू नै छैनन् । यहाँको नाट्यक्षेत्रको विकास कसरी होला ?
महोत्सवबाट रङ्गमञ्च निर्माणका लागि थिएटर घर निर्माण गर्ने उद्देश्य पनि छ । त्यसको लागि सबैको दिमागमा सोच पलाओस् भन्ने हाम्रो चाहना हो । त्यसैले गर्दा प्रदेश राजधानी सुर्खेतमा थिएटर बनेर सिँजा क्षेत्रका नाटकहरू नियमित प्रदर्शनमा मद्दत पुगोस् भन्ने पनि हो । भेरी कर्णाली, राप्ती क्षेत्रका, विदेशमा भएका नाटकहरूको प्रदर्शनीमा सहयोग पु¥याउने छ ।
महोत्सवभन्दा पछि यहाँको नाट्यक्षेत्रको विकासका लागि केही सोच्नुभएको छ ?
महोत्सव गरेर मात्रै सेलाउने भन्ने होइन, राष्ट्रियस्तरका गर्न नसकिएला तर प्रदेश, जिल्लास्तरका गोष्ठी, तालिम, खोज अनुसन्धानका कार्यक्रम गर्न सकिन्छ । त्यो खालको माहोल बन्ने आशा गरेका छौं ।
कसले के गरिदियो भने यहाँको नाट्यक्षेत्रको विकास हुनसक्छ ?
कलाकार स्वयम्ले संगठित हुनुप¥यो । स्वार्थ राखेर नभइ विशुद्ध रूपमा कलाकारितामा लाग्नुपर्छ । सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’को यो नारालाई कसरी सार्थक तुल्याउन सकिन्छ भन्ने बारेमा कलाकार, नाट्य संस्थानहरूले पनि सोच्नुपर्ने हुन्छ । नाटकको विकासमा सरकारले केही गरेन भनेर आरोप लगाएर मात्रै विकास हुँदैन । राज्यले पनि स्पष्ट नीति नियम बनाएर बजेट विनियोजन गरेर कार्यक्रमसहित अगाडि बढ्नुपर्छ । नाट्य क्षेत्रमा लागेका व्यक्तिलाई काम गर्ने वातावरण बनाइदिनुपर्छ, त्यो राज्यको जिम्मेवारी पनि हो । जनताले विकास भनेको पनि बाटोघाटो, पुलपुलेसा मात्रै विकास हो भन्ने नभइ मौलिक कला संस्कृति, पहिचान जोगाइ राख्नु पनि विकास हो भन्ने ठान्नुप¥यो ।
महोत्सव सफल हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
महोत्सव सञ्चालनको अन्तिम संघारमा आएका छौं । सफल हुन्छ, कलाकार आउनु हुन्छ । प्रदेश सरकारले १० लाख रूपैयाँ अनुदान दिएको छ । स्थानीय तह, संघ–संस्थाबाट सहयोग भएको छ । कलाकारहरू आफै पनि जागरूप हुनुहुन्छ । त्यसैले सफल हुनुमा हामी विश्वस्त छौं ।
करिब एक दर्जन नाटक मञ्चन हुँदै रहेछन् । दर्शकहरूको उपस्थिति अपेक्षा गरेअनुसार होला ?
हलको क्षमता नै तीन सय जना अट्ने क्षमता छ । हामीले विद्यालयहरूबाट दर्शकका लागि अनुरोध गरेका छौं । सात हजार दर्शकले नाटक अवलोकन गर्ने लक्ष्य हामीले लिएका छौं । दर्शकले अपेक्षा गरे अनुसार सीट उपलव्ध गराउने नसक्ने अवस्था छ । सबैको माग हामीले पुरा गर्न सक्दैनौं । विडम्बना हामी सीमित दर्शकलाई मात्रै अवलोकन गराउन सक्ने छौं ।
अन्त्यमा केही भन्न चाहानुहुन्छ ?
यहाँका नाट्य क्षेत्रको विकासका लागि सबै मिलेर अघि बढ्न जरुरी छ । राज्यले पनि यसलाई महŒवका साथ लिनुपर्दछ । कर्णालीलाई ऊजागर गर्ने अवसर पनि हो यो महोत्सव । त्यसैले सबैसँग सहयोग र समन्व्यनका लागि आग्रह गर्न चाहन्छु ।
साझा बिसौनी ।