क्यान इन्फोटेकको तयारी पूरा

साझा बिसौनी संवाददाता
सुर्खेत, २२ फागुन ।
आउँदो शुक्रवारदेखि वीरेन्द्रनगरमा सञ्चालन हुने आइएमइ–पे क्यान इन्फोटेकको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक संस्था कम्प्युटर एसोशीयसन अफ सुर्खेतले बुधवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको छ ।
इन्फोटेकमा सूचना प्रविधिको बृहत प्रदर्शनी, प्रत्येक दिन आईटी सेमिनार, लक्की ड्रबाट हरेक दिन एक जनालाई रारा भिजिट, कम्प्युटर ल्यापटप र प्रिन्टर फ्रि सर्भिस क्याम्प, टाइपिङ्ग कम्पिटिसन, नेपाली वैज्ञानिकहरूद्वारा निर्मित रोबोर्ट तथा अन्य प्रविधिहरूको प्रदर्शनी, दृष्टिविहीनहरूलाई कम्प्युटर मोबाइल चलाउन सिकाइने, सेवा तथा सामान खरिदमा पाँचदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था लगायतका आकर्षण रहेको क्यान सुर्खेतका अध्यक्ष प्रेमप्रकाश चन्दले जानकारी दिए ।
इन्फोटेकलाई आईएमई–पेले मुख्य प्रायोजन गरेको छ । एशोसियट स्पोन्सर भिस्टा सिसिटीभि, अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्स गरेको आयोजकले जनाएको छ । इन्फोटेकमा ६२ वटा स्टलहरू बुकिङ्ग भइसकेका छन् । मेलामा राष्ट्रियस्तरका व्यवसायीहरू सहभागी हुने भएकोले कर्णालीबासीले अझ धेरै फाइदा उठाउने विश्वास लिएको आयोजकले बताएको छ ।
प्रदर्शनीलाई सुर्खेतको लागि सूचना सञ्चार र प्रविधिको ठूलो प्रदर्शनीका रूपमा लिएका अध्यक्ष चन्दले बताए । प्रदर्शनीमा कर्णाली प्रदेशभित्रका १० वटै जिल्लाको सहभागिता रहने र करिब एक लाख बढी दर्शकहरूले अवलोकन गर्ने अपेक्षा लिएको उनले बताए ।
यस प्रदर्शनीको आयोजनाले कर्णाली प्रदेशमा सूचना सञ्चार र प्रविधिमा जानकारी, प्रचार–प्रसारका साथै व्यापार प्रवद्र्धनमा समेत टेवा पु¥याउर्ने, कर्णाली प्रदेश सरकारले लिएको समृद्ध नेपालका लागि डिजिटल कर्णाली अभियानलाई समेत सहयोग गर्ने, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र व्यापारलाई प्रविधिसँग जोड्न यसले मद्दत गर्ने विश्वास आयोजकले लिएको छ ।
मेलामा अन्तरविद्यालय प्रविधि प्रदर्शनी पनि हुनेछ । विद्यालयको पोशाक र परिचयपत्रका साथमा आउने विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने परिचयपत्र मात्रै भएको तर पोशाक नभएकालाई ५० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ । नयाँ प्रविधिसहितका प्रदर्शनी, ५ देखि ५० प्रतिशतसम्म सामानमा छुटको व्यवस्था, स्थानीय तथा राष्ट्रियस्तरमा विकास भएका प्रविधिको प्रदर्शनी इन्फोटेकका विशेषता हुन् ।

प्रकाशित मितिः   २३ फाल्गुन २०७५, बिहीबार १३:००