तेह्र नाटक मञ्चन हुँदै
सुर्खेत, २१ फागुन । (साबिस)
कर्णाली प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको ‘रारा राष्ट्रिय नाटक महोत्सव २०७५’ मा १३ वटा नाटक मञ्चन हुने भएका छन् । सांस्कृतिक संस्थाको आयोजनामा फागुन २३ गतेदेखि फागुन २९ सम्म वीरेन्द्रनगरमा हुन लागेको महोत्सवमा मञ्चनका लागि १३ वटा नाटक छनौट भएका हुन् ।
महोत्सवमा देशैभरका सात वटै प्रदेशको प्रतिनिधित्व हुनेगरी १३ वटा नाटक प्रदर्शन हुने आयोजकले जनाएको छ । देशका विभिन्न क्षेत्रको भाषा, संस्कृति भेषभुषा र मौलिकता झल्किने नाटकहरू प्रदर्शन हुने रारा राष्ट्रिय नाटक महोत्सवका संयोजक प्रभाकर शर्माले बताए । नाटक महोत्सवले सरकारको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थकता दिन सहयोग पुग्ने उनले बताए ।
आयोजकले नाटक प्रदर्शनका लागि तालिकासमेत सार्वजनिक गरेको छ । प्रत्येक दिनको दिउँसो एक बजे र बेलुका चार बजे नाटक प्रदर्शन गरिनेछ । महोत्सव उद्घाटनको दिन फागुन २३ गते आरङ्ग नेपाल सुर्खेतको नाटक ‘मुसल पर्व’ मञ्चन हुनेछ । फागुन २४ गते १ नम्बर प्रदेशको सोलुखुम्बु नाट्य समूहबाट ‘आरन’, सोही दिन सुदूरपश्चिम प्रदेशको खप्तड सांस्कृतिक मञ्च परिवारबाट ‘छाउ’ प्रदर्शन हुनेछ । फागुन २५ गते १ नम्बर प्रदेशका मानवअधिकार मञ्च नेपाल, इलामबाट ‘म पहिलो सन्तान किसान जन्माउँछु’ र त्यसैदिन कर्णाली प्रदेशको कर्णाली कला प्रतिष्ठान, सुर्खेतबाट ‘आमाको सपना’ नाटक प्रदर्शन हुनेछ । २६ गते २ नम्बर प्रदेशको श्री गढीमाई नाट्य कला केन्द्रबाट नाटक ‘दहेज आ दारु’ र त्यसै दिन सुदूरपश्चिम प्रदेशको सुदूर पश्चिमाञ्चल साहित्य समाज कैलालीबाट ‘श्रीमान् वीरबहादुर’ नाटक प्रदर्शन हुनेछ । यस्तै फागुन २७ गते बिहान ११ बजे तीन नम्बर प्रदेशको साइलेन्ट एक्ट काठमाडौंको नाटक ‘जिउँदो आकाश’ र कर्णाली प्रदेशको कर्णाली खस संस्कृति मञ्च जुम्लाको ‘फड्को’ नामक नाटक प्रदर्शन हुनेछ । २८ गते चार नम्बर प्रदेशका मञ्जरी नाट्य समूहको नाटक ‘नौगेडी’ र प्रदेश ५ को शान्तिका लागि युवा सञ्जाल बर्दियाबाट ‘हिटवा’ नाटक प्रदर्शन हुनेछ । महोत्सवको अन्तिम दिन फागुन २९ गते ४ नम्बर प्रदेशको युथ क्रिएसन थिएटर पोखराबाट नाटक ‘घेरो’ र ३ नम्बर प्रदेशको ‘ङ’ समूह काठमाडौंबाट ‘एक बोली एक दाम’ नाटक प्रदर्शन हुनेछ । सुर्खेतको प्रहरी व्यायमशालामा आयोजना हुने महोत्सवका लागि एक सयदेखि तीन सयसम्म टिकटको शुल्क निर्धारण गरिएको छ । स्थानीय नाट्य संस्था आरङ्ग नेपालको सहकार्यमा हुन लागेको महोत्सवमा उद्घाटन उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्नेछन् ।
साझा बिसौनी संवाददाता ।