शिक्षक आन्दोलनले कर्णालीमा पढाइ प्रभावित
साझा बिसौनी संवाददाता
सुर्खेत, २१ फागुन ।
शिक्षकहरूको आन्दोलनका कारण कर्णाली प्रदेशका अधिकांश जिल्लाका सामुदायिक विद्यालयहरूको पढाइ प्रभावित भएको छ । शैक्षिक सत्र सकिनै लाग्दा राहत शिक्षकहरू आन्दोलित हुँदा परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूको पढाइ प्रभावित भएको हो । कर्णालीका १० जिल्लामा नै मंगलवार सामुदायिक विद्यालयहरू पूर्णरूपमा बन्द भए ।
नेपाल राहत शिक्षक संगठनले देशभरका सामुदायिक विद्यालय बन्द गर्न आव्हान गरेपछि विद्यालय पूर्णरूपले बन्द भएका हुन् । सामुदायिक विद्यालयमा कार्यरत राहत तथा बालविकास शिक्षकले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनलाई सरकारले हस्तक्षेप गरेको विरोधमा विद्यालय बन्द गरिएको हो । राहत तथा बालविकास शिक्षकको बहुमत भएको कर्णलीका सामुदायिक विद्यालय पूर्णरूपले बन्द भए भने केही विद्यालयले भने नैतिक समर्थनका लागि भन्दै विद्यालय आंशिक बन्द गरे ।
एसईई परीक्षा चैत ८ गतेबाट र जिल्लाको वार्षिक परीक्षा चैत ७ गतेबाट हुने निर्धारण गरिएको अवस्थामा विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा उत्रिएपछि विद्यार्थीहरूमा चिन्ता थपिएको छ । ‘परीक्षाका लागि विद्यालयमा महŒवपूर्ण विषयहरूमाथि छलफल हुन पाएको छैन’ एसईई परीक्षाको तयारीमा रहेकी सावित्री सुवेदीले भनिन्,‘यस्तै आन्दोलन कायम रह्यो भने परीक्षा सफल नहुने हो की भन्ने चिन्ता छ ।’ आन्दोलनका कारण अधिकांश माध्यमिक विद्यालय प्रभावित भएको राहत शिक्षक समिति सुर्खेतले जनाएको छ ।
गत असोज २२ गते सरकारसँग भएको चार बुँदे सहमति कार्यन्यन गर्न दबाब स्वरूप जिल्लामा कार्यरत राहत, बाल विकास केन्द्रका शिक्षक, अस्थायी शिक्षक, विद्यालय कर्मचारी तथा कार्यालय सहयोगीहरूले अनिश्चितकालीन शैक्षिक हड्ताल आव्हान गरेको थियो । राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुका साथै बालविकास केन्द्रका शिक्षक, विद्यालय कर्मचारी र कार्यालय सहयोगीलाई थप सेवा सुविधासहित स्थायी गर्नुपर्ने, सार्वजानिक विद्यालयमा कार्यरत राहत, अस्थायी, राहत, सट्टा, बाल विकास केन्द्रका शिक्षकबीचको भेदभाव हटाउनुपर्ने, राहत शिक्षकलाई स्थायी परीक्षामा सामेल हुँदा उमेरको हद हटाउनुपर्ने लगायतका माग राख्दै सशक्त रूपमा आन्दोनमा उत्रेको हुन् । मंगलवारको आन्दोलन सफल भएको आन्दोलनरत शिक्षकहरूको दाबी छ ।
साझा बिसौनी संवाददाता ।