राप्रपाले वीरेन्द्रनगरमा आमसभा गर्ने

साझा बिसौनी संवाददाता
सुर्खेत, २१ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो बिहीवार वीरेन्द्रनगरमा आमसभा गर्ने भएको छ । पार्टीले सुरु गरेको राष्ट्रिय स्वाभिमान यात्रा अन्तर्गतको सुर्खेतको वीरेन्द्रनगरमा फागुन २३ गते आमसभा आयोजना गर्न लागिएको हो ।
स्वाभिमान यात्रा यही फागुन २३ गते सुर्खेत आइपुग्ने जनाइएको छ । सोही अवसरमा सभा गर्न लागिएको हो । मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दुराष्ट्र कायम गराउनका लागि दबाब दिने उद्देश्यले सुरु गरिएको मेची महकाली यात्रा फागुन २३ गते बिहीवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आइपुग्ने राप्रपा सुर्खेतले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । सोही दिन दिउँसो ३ बजे वीरेन्द्रनगरको पिपलचौतारीमा आमसभाको तयारी भइरहेको छ ।
फागुन १५ गते ताप्लेजुङबाट सुरु भइ मुलुकका ३६ जिल्लामा हुने उक्त यात्रा काठमाडौंमा आएर समापन हुने राप्रपा सुर्खेतका अध्यक्ष मानबहादुर खड्काले जानकारी दिए । यात्राका क्रममा सम्बन्धित जिल्लाका संगठनले आवश्यक समन्वयन र सहयोगमा दुई हजार आठ किलोमिटरको यात्रामा गर्ने तथा यात्रा अवधिभर विभिन्न सहरमा करिब दुई सय स्थानमा सभा गरिने बताइएको छ ।
सुर्खेतको पिपल चौतारीमा आयोजना हुने आम सभालाई पार्टी अध्यक्ष कमल थापालगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ भने सुर्खेत आउने क्रममा सुर्खेतको छिन्चुमा समेत कोण सभाको आयोजना गरिएको छ । सनातन हिन्दु राष्ट्र घोषणा गराउने लक्ष्य राखेको राप्रपाले राष्ट्रिय अखण्डता सुदृढ गर्ने, महँगी तथा कालोबजारी नियन्त्रण गर्ने लगायत मुलुकका समसामयिक राजनीतिक अवस्थाबारे सभामार्फत् जनतालाई बताउँदै उक्त यात्रा सञ्चालन भइरहेको पार्टीका कर्णाली प्रदेश अध्यक्ष धनबहादुर बुढाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘पार्टीले
लिएको राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने सर्वपक्षीय गोलमेच सम्मेलन र संघीयताबारे जनताको प्रत्येक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गरिनुपर्ने आफ्ना राजनीतिक एजेण्डासमेत जनता माझ छलफल गराउने कार्यक्रम छ ।’ यात्राका क्रममा विभिन्न नदी तथा तीर्थस्थलबाट ल्याइने जल पशुपतिनाथ मन्दिरमा समापनका दिन चढाइनेछ ।

प्रकाशित मितिः   २२ फाल्गुन २०७५, बुधबार १२:५०