आत्मविश्वासी अनिता

वीेरेन्द्रनगर–९, सुर्खेतकी अनिता रास्कोटी वि.सं. २०३४ साल असार ४ गते बुबा दुर्गबहादुर खत्री र आमा शारदादेवी खत्रीको कोखबाट जन्मिएकी हुन् । दुई बहिनी र चार भाइमध्ये उनी छोरीमा कान्छी हुन् ।
कृषि पेसा गरेर जीविकोपार्जन गर्दै आाएकी अनिता च्याऊ खेती र तरकारी खेतीबाट महिनामा २० हजार भन्दा बढी कमाउँछिन् । अर्को अचम्मको कुरा त के छ भने अनिताका दुवै मिर्गौलामा समस्या छ । तर उनको आत्माविश्वास बलियो छ । जीवनमा सफल हुनको लागि आत्माविश्वास नै सबैभन्दा ठूलो कुरा भएको बताउने अनिताले आफ्नो पेसागत जीवनका कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटिन्ः


म वीरेन्द्रनगर नगरपालिका–९ बुलबुले नजिक बस्दै आएकी छु । सानैदेखि विद्रोही स्वभाविकी थिएँ । आज पनि मेरो त्यो स्वभाव गएको छैन ।
मैले एसएलसी उत्तीर्ण समेत नगरी पढाइ छोडें । पढेर जागीर नखाने सोचले मैले पढ्न छोडेकी हुँ । मलाई सानैदेखि जागीर भनेपछि अर्कासँग गएर गिर्ने काम जस्तो लाग्थ्यो र जागीरप्रतिको मोहमा म कहिल्यै परिनँ । व्यापार र खेती किसानमा भने मेरो मन पहिल्यैदेखि लाग्थ्यो ।
मैले तरकारी खेती गर्न थालेको त लगभग तीन वर्ष जति भयो । च्याऊ खेती पनी करिब तीन महिनादेखि गर्दै आएकी छु ।
पहिला म घरमै बसेर श्रीमान्को कमाइ खाएर बस्ने मान्छे थिएँ । बिरामी भएपछि भने च्याऊ खेती र तरकारी खेती गर्दै आएकी छु । मेरा दुवै मिर्गौला फेल भएका छन् । उपचारको लागि धेरै पैसा पनि खर्च भइसक्यो । धेरैले बाँच्दैन भन्थे । डाक्टरले पनि एक वर्षभन्दा बढी बाँच्दैन भनेको मान्छे मेरो आत्माविश्वासले मलाई मिर्गौला रोग लागेको चार वर्ष भयो । म स्वस्थ छु जस्तो लाग्छ । दैनिक रुपमा डायलासिस गरिरहन्छु । दिनमा करिब डेढ घण्टा डायलासिसमा लागे पनि अन्य समय मैले मेरो व्यवसायमा लगाउने गरेकी छु । र त आज मैले जीवनदान पाएको महसुस गरेकी छु ।
च्याऊ र तरकारी खेती गरेरै मैले महिनामा १५÷२० हजार भन्दा माथि नै कमाउने गरेकी छु । त्यसले मेरो उपचार गर्न त पुगेको छैन तर पनि केही राहत भने पक्कै भएको छ ।
नेपाल सरकारले दिनमा तीन प्याकेट पानी दिन्छ र एक प्याकेट पानी आफैले किनेर चार प्याकेट पानी डायलासिस गर्नुपर्दछ । मेरो दुई भाइ छोरा र एक जना छोरी छन् । उनीहरुको भविष्यको लागि पनि मैले साहस बटुलेर बाँच्नुपर्छ । श्रीमान् सशस्त्र प्रहरीको जागीरे, तलब खासै धेरै हुँदैन । तर पनि उहाँले मलाई बाँच्ने प्रेरणा दिइरहनु भएको छ ।
म जस्ता थुप्रै मिर्गौलाका बिरामी छन् । कति त आत्माविश्वासकै कमीले मृत्युको मुखसम्म पुगेका छन् । तर मैले खानपान, सरसफाइमा विशेष ध्यान दिने गरेकी छु । महिनामा उपचारको लागि मात्रै कमाइ भन्दा दोब्बर खर्च आउँछ । कसरी जुटाउने होला भन्ने चिन्ता लाग्छ । मैले हाल ४० डल्ला च्याऊ लगाएकी छु । अझै एक÷दुई सय जति च्याऊका डल्ला लगाउन पाएको भए मेरो उपचारको लागि आफै पैसा जुटाउन सहज हुने थियो ।
मैले च्याऊ तथा तरकारी उत्पादन गरेको जग्गा आफ्नो पनि होइन, अरुको जग्गामा खेती गर्दै आएकी छु । नेपाल सरकारले कम्तीमा पनि म जस्ता मिर्गौला फेल भएका बिरामीहरुका लागि निःशुल्क ल्याब, औषधि, सुइ तथा डायलाशीस फ्रि भयो भने एकदमै राम्रो हुनेथियो ।
म आफू अशक्त भए पनि महिनामा केही पैसा कमाउन सक्ने भएकी छु । अर्को कुरा मैले अर्गानिक तरकारी र आफैले उत्पादन गरेको चामल मात्रै खाने गरेकी छु । अझै मलाई आत्माविश्वास बढेको छ । आगामी दिनमा म जस्ता दीर्घ रोगीहरुका लागि केही गरौ भन्ने आँट आएको छ । त्यसैले केही साथीहरुसँग संगठित भएर अगाडि बढ्ने योजना बनाएकी छु । त्यसमा प्रदेश तथा स्थानीय सरकारले पनि सहयोग गरोस् भन्ने मेरो अपेक्षा हो ।

प्रकाशित मितिः   २२ फाल्गुन २०७५, बुधबार १२:४९