युवालाई संसदीय अभ्यास तालिम
साझा बिसौनी संवाददाता
सुर्खेत, २० फागुन ।
मुलुक संघीय संरचनामा गएसँगै युवाहरूलाई संसदीय अभ्यास गराउन थालिएको छ । ‘आजको युवा भोलिको नेतृत्वकर्ता’ भएकाले संसदीय प्रक्रियाबारे अभ्यास थालिएको हो । स्थानीय तहबाट चयन भएका युवाहरूलाई वीरेन्द्रनगरमा संसदीय अभ्यासका लागि तालिम सञ्चालन भएको छ ।
कर्णालीका १० जिल्लाका ७९ वटा स्थानीय तहका वडाहरूबाट वडा क्लबका दुई जना प्रतिनिधि र एक जना कर्मचारीलाई संसदीय अभ्यासका बारेमा तालिम थालिएको हो । राष्ट्रिय युवा परिषद्को युथ क्लब र युवा संसद कार्यक्रम अन्तर्गत प्रदेशस्तरीय संसदीय अभ्यास गोष्ठी गरिएको हो । ‘भोलि संसदमा प्रतिनिधित्व गर्ने युवापुस्ताका लागि उपयोगी हुने गरी परिषद्ले युवा संसद कार्यक्रम लागू गरेको हो’ राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले भने, ‘वडास्तरमा वडा क्लब, गाउँपालिकामा पालिका परिषद् र जिल्लामा जिल्ला समिति तथा प्रदेशमा प्रदेश परिषद् गठन गरेर युवाका लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना छ ।’
परिषद्ले एक हजार ९४ वटै वडापालिका र सात सय ७३ वटै स्थानीय तहमा युवा संसद कार्यक्रम निकट भविश्यमै लागू गर्नेछ । परीक्षणकालका रूपमा केही स्थानीय तहमा हाल यो कार्यक्रम लागू भएको छ । भविष्यका लागि निकै उपयोग भएकाले केन्द्र, प्रदेश र स्थानीय सरकारसँगको पहल र समन्वयमा कार्यक्रमलाई निरन्तरता दिइनेछ । सबै स्थानीय तहमा संसद सञ्चालन कार्यक्रमको काम मध्यवधिमा पुगेको उनले जानकारी दिए ।
उनले युवालाई विकाससँग जोडिने बताए । बढ्दो आप्रवासन रोक्न परिषद्ले विना कर्जा ऋण उपलब्ध गराउने पहल गरेको छ । युवाहरूको प्रमाण–पत्र धितो राखेर ऋण पाउने व्यवस्था कार्यान्वयनमा आएको छ । उनले अनुउत्पादन क्षेत्रमा नभइ उत्पादनका क्षेत्रमा युवालाई जोड्ने गरी परिषद्ले कार्यक्रम अगाडि सारेको बताए । युवाको सीप विकास, उद्यमशीलता र रोजगारी, युवा परिचालन तथा नेतृत्व क्षमता विकास लगायतका क्षेत्रमा परिषद्ले काम गर्दै आएको छ ।
एक हजार पाँच सय ८५ जना युवालाई सीप विकास, तीन सय ८९ जनालाई उद्यमी, एक सय १८ जना युवा क्लबमार्फत् ८५ स्थानीय तहमा युवा संसद कार्यक्रम सञ्चालन गरेको सुर्खेत जिल्ला समितिका अध्यक्ष टेकेन्द्रबहादुर बस्नेतले बताए ।
साझा बिसौनी ।