‘महिलालाई जहाँ पनि विभेद’

साझा बिसौनी संवाददाता
सुर्खेत, १९ फागुन ।
महिलाहरूलाई जुनसुकै क्षेत्रमा पनि विभेद हुने गरेको भन्दै यस्तो विभेदको अन्त्य हुनुपर्ने सरोकारवालाहरूले बताएका छन् । आइतवार कर्णाली प्रदेश संसद सचिवालयको आयोजनामा कर्णालीका सांसद महिला तथा पत्रकार महिलाका समस्याका विषयमा भएको अन्तरक्रयामा सहभागी पत्रकार तथा सांसद महिलाहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा अधिकांश पत्रकार महिलाहरूले आफूहरूलाई पत्रकारका रूपमा जिम्मेवार तहमा बसेकाहरूले नबुझेको गुनासो गरे । कर्णाली प्रदेश पत्रकार महासंघकी उपाअध्क्ष डम्बर आचार्यले उच्च पदमा बसेकाहरूले नै महिलालाई पत्रकारका रूपमा नबुझेको बताइन् । उनले भनिन् ‘पत्रकार भनेपछि सांसद हुन् या मन्त्री पुरुषलाई मात्र बुझ्ने चलन छ । जसले गर्दा पत्रकार महिलाहरू पेसामा टिक्न सकेको छैनन् ।’ अवसर दिने कुरामा समेत पत्रकार महिलाहरूलाई पछाडि पारिएको भन्दै उनले थपिन् ‘खोइ कहाँ पाए पत्रकार महिलाले प्रेस सल्लाहकारको भूमिका कर्णालीमा ?’
पुरुष भन्दा योग्यतामा समेत अब्बल कर्णाली प्रदेशका पत्रकार महिलाहरूको लागि कर्णाली सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताइन् । त्यस्तै कार्यक्रममा बोल्दै क्रियाशील पत्रकार महिला समूहकी अध्यक्ष लक्ष्मी भण्डारीले सूचना दिने कुरामा समेत पत्रकार महिलाहरूलाई नदिइ पुरुषलाई दिने प्रचलनको अन्त्य हुनुपर्ने बताइन् । उनले भनिन् ‘पत्रकार महिलालाई सूचना दिनमा कन्जुस्याइ गरिएको कारण यो पेसामा महिलाहरू पछाडि परेका हुन् । यसलाई आगामी दिनमा सच्याएर लैजानुपर्छ ।’
कार्यक्रमा कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णाली प्रदेशमा पत्रकार महिलाहरूलाई विभेद छैन भन्ने खालको सन्देश दिने गरी कानुन निर्माण गरिने बताइन् । उनले भनिन् ‘महिलाका समस्या जहाँ पनि उस्तै हुन् । चाहे मन्त्री, सांसद वा पत्रकार हुन् हरेक पेसामा आफूलाई आत्मसम्मान गुमाएको महसुस महिलाहरूले गर्नुपरेको छ ।’ अब सबै पेसामा आवद्ध महिलाहरू एकजुट भए बाध्यकारी कानुन निर्माण गर्नुेपर्ने बताइन् । सधैं दोष भएर नै महिला अगाडि बढ्न नसकेको भन्दै मन्त्री केसीले एकले अर्कोलाई स्थापित गर्दै अगाडि बढ्नुपर्ने समेत बताइन् ।
त्यस्तै कर्णालीका सभामुख राजबहादुर शाहीले महिला र पुरुष भन्दा अतिरिक्त क्षमता भएको वर्ग भएकोले आफूलाई थप अब्बल बनाउन सुझाव दिए । कार्यक्रमको समापन गर्दै उप–सभामुख पुष्पा घर्तीले एउटै विषय पनि पुरुष सांसदले बोल्दा मिडियामा आउने र महिलाले बोल्दा नआउने गरेको गुनासो गरिन् । उलने भनिन् ‘हरेक क्रियाकलापमा महिलाको सहभागिता हुन्छ तर महिला जहिले पनि ओझेलमा परेका हुन्छन् ।’ आगामी दिनमा सबै मिलेर कर्णालीका महिलाका समस्या हल गर्ने प्रतिबद्धता समेत उपसभामुख घर्तीले दिइन् ।
कार्यक्रममा सांसद देबी वली, पद्मा खड्का, बद्मी क्वारी बोहोरा, अमृता शाही, कौशीलावती खत्री, राजु नेपाली, मिनासिं रखाल, झोवा विक लगायतले पत्रकार महिलाको कानुनी अधिकारका लागी सभामा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मितिः   २० फाल्गुन २०७५, सोमबार १२:३६