नेकपा प्रमुख सचेतकमा शाह
साझा बिसौनी संवाददाता
सुर्खेत, १८ फागुन ।
कर्णाली प्रदेशसभामा नेकपा संसदीय दलको प्रमुख सचेतकमा गुलावजंग शाह नियुक्त भएका छन् । दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिवार उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।
शाह यसअघि तत्कालीन नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक थिए । त्यस्तै, सचेतकमा सीता नेपाली नियुक्त भएकी छन् । उनी तत्कालीन माओवादी केन्द्र संसदीय दलकी प्रमुख सचेतक थिइन् ।
लामो समयदेखि नेतृत्वविहीन अवस्थामा रहेको नेकपा संसदीय दलमा एक महिनाअघि मुख्यमन्त्री शाही सर्वसम्मत् निर्वाचित भएका थिए । प्रमुख सचेतक शाहले दुईवटा महŒवपूर्ण नियुक्तिसँगै संसदीय दलले पूर्णता पाएको र अब गतिशील हुने बताए ।
यसैबीच, शनिवार प्रदेशसभाको बैठक बसेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले टेबुल गरेको सार्वजनिक प्रसारण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरूले भाग लिए ।
त्यस्तै भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्राङ्गारिक कृषि विधेयक–२०७५ टेबुल गरिन् ।
साझा बिसौनी ।