हिमाली जिल्लालाई नेपालगन्जकै भर

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ फागुन ।
प्रदेश राजधानी वीरेन्द्रनगरबाट नियमित हवाई सेवा प्रदान नहुँदा कर्णालीका हिमाली जिल्लालाई अहिले पनि अर्को प्रदेशको भर पर्नुपर्ने बाध्यता छ । प्रदेश राजधानी वीरेन्द्रनगर आउ–जाउ गर्नै हिमाली जिल्लाका नागरिकले प्रदेश नं. ६ को नेपालगन्जको भर पर्नु परिरहेको छ ।
कर्णाली प्रदेश राजधानीदेखि जिल्लाका लागि हवाइ उडान ज्यादै न्यून छ । प्रादेशिक संरचना अनुसार राजधानी भए पनि कर्णालीका हिमाली जिल्लाबाट सुर्खेत आउने अधिकाशंले नेपालगन्ज विमानस्थल नै प्रयोग गर्ने गरेका छन् । सुर्खेतदेखि जुम्ला, हुम्ला, मुगु, रारा, डोल्पा जिल्लाका लागि हवाई उडान हुन्छ । तर, ती जिल्लाहरूमा नियमित भने हुने गरेको छैन । वीरेन्द्रनगरदेखि जुम्लाका लागि यो महिनामा एक दिन मात्रै उडान भएको जुम्ला विमानस्थलले जनाएको छ । तर, राजधानी वीरेन्द्रनगर पुग्न अधिकांश यात्रुहरू नेपालगन्ज विमानस्थल प्रयोग गर्ने गरेका छन् । दैनिक जसो नेपालगन्ज–जुम्ला एक उडान भर्ने गरेका छन् । सुर्खेत–जुम्ला उडान तालिका भए पनि उताबाट आउने यात्रु नपाउने भएकाले कमै मात्रामा विमान उड्ने गरेको जनाइएको छ । एकहोरो यात्रु लिन नमान्ने भएकाले विमान कम्पनीले समेत उडान गर्न मान्दैनन् ।
हिमाली जिल्ला हुम्लामा दैनिक न्यूनतम सात वटा विमानले उडान भर्छन् । नेपालगन्ज विमान स्थलका हवाई ट्राफिक कन्ट्रोल अफिसर सन्तोष अधिकारीका अनुसार दैनिक जसो कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, रुकुम, मुगु जिल्लामा गरी दैनिक १० वटा विमान उड्ने गरेका छन् । यात्रु नभएको खण्डमा कार्गो लिएर पनि विमानले नियमित उडान भर्ने गरेको उनले जानकारी दिए । ‘मौसम खराबीका कारण मात्रै कहिले काहीं विमान जादैन’ उनले दाबी गर्दै भने, ‘नेपालगन्जको मौसम प्रायः खराब नहुने भएकाले पनि नियमित उडान हुन्छ । यात्रुलाई कुनै सास्ती छैन । एक न एक विमान कम्पनीले दैनिक उडान भरेकै छन् ।’
नेपालगन्जदेखि कार्गो र यात्रु लिएर कर्णालीका हिमाली जिल्लामा दैनिक उडान भए पनि सुर्खेतबाट भने हुन सकेका छैनन् । व्यापारिक केन्द्र भएकाले पनि नेपालगन्जबाट हिमाली जिल्ला जाने यात्रु धेरै भएको जुम्लाका सांसद पदमबहादुर रोकायले बताए । कर्णालीका हिमाली जिल्लामा नेपालगन्जबाट हवाई यात्रा गर्नुपर्ने बाध्यता हट्न सकेको छैन् । ‘सुर्खेत–कर्णालीको हवाई यातायात भीआईपी लक्षित भयो’ उनले भने, ‘नेपालगन्जबाट नै सहज हुने भएकाले हुम्ला डोल्पा जाने यात्रुको संख्या बढी नै छ’ उनले भने । सरकारले हवाई भाडामा सहुलियत दिए पनि प्रभावकारी हुन सकेको छैन । प्रदेश सरकारले एक हजार रूपैयाँ भाडा सहुलियत दिन बजेट समेत विनियोजन गरेको छ ।
जिल्ला सदमुकामसम्म राष्ट्रिय सडक सञ्जाल नजोडिएको कर्णालीका हिमाली जिल्लामा यातायातको भरपर्दाे माध्याम नै हवाई सेवा हो । तर, पनि सर्वसाधारणको पहुँचमा हुन सकेको छैन । मौसम खराबी, भाडादर महंगो र नियमित उडान नहुँदा राजधानी वीरेन्द्रनगर पुग्न अधिकांश सर्वसाधारणहरू नेपालगन्ज पुग्नुपर्ने बाध्यता हटेको छैन ।

हिउँदे झरीले उडान अनियमित


काठमाडौंबाट उपचार गरेर फर्किएकी जलाकी सुनार नेपालगन्ज मै अलपत्र परिन् । हुम्ला जिल्लाको श्रीनगर, गल्बा (घरसम्म) फर्किएकी उनले नेपालगन्ज विमानस्थलमा विमान कुर्दै साता बिताइन् । उनलाई नेपालगन्जबाट बाजुराको कोल्टी विमानस्थल पुगेर त्यहाँबाट घर पुग्नुपर्ने थियो । तर फागुन ११ गतेदेखि करिब एक साता सुमिट एयरले उडान भर्न सकेन । जसका कारण उनी एक सता नेपालगन्जमै बस्न बाध्य भइन् ।
राष्ट्रिय सडक सञ्जालमा पहुँच नभएकाले कर्णालीको हिमाली जिल्लाका सर्वसाधारणलाई हवाई यातायातकै भर पर्नुपर्छ । ‘सडकबाट घर पुग्न सात दिन भन्दा बढी लाग्छ’ नेपालगन्ज विमानस्थलमा भेटिएकी सुनारले भनिन्, ‘जिल्ला सदरमुकामसम्म पुग्न हवाइ यातायात बाहेक अरु कुनै विकल्प छैन ।’ विमान नियमित नहुँदा कोल्टी विमानस्थल झर्ने योजना बनाएर साता अघि नेपालगन्ज पुगेकी सुनार समयमा घर पुग्न सकिनन् । बाजुराको कोल्टी विमानस्थलबाट घरसम्म पुग्नै सुनारलाई दुई दिन पैदल हिँड्नुपर्छ । गल्बा हुम्ला र बाजुराको सीमानामा उनको घर पर्छ ।
बिरामी आमालाई घर लिन भनेर बाजुरा पुगेका छोरा पनि अलपत्रै परे । हातमा टिकट र बोइङ्ग पास लिएर बिहान राँझा विमानस्थल पुग्ने उनी बेलुका निराश बनेर होटेलमा फर्किनुबाहेकको विकल्प बनेन्, एक साता । ‘छोरो कोल्टी आया गो छ्यो (थियो), उसको पासौं (पकेट) न पैसा नाइ, उपचार गरेर आएकी म सँग पनि पैसा नाइ’ विमान कुर्दा थाकेकी उनले भनिन्, ‘बिहानदेखि खाना नखाएर विमान कुर्याे, बेलुकापख आज हुँदैन, भोलि बिहान आउ भन्छन् ।’ उनले भरपर्दाे हवाई यातायात नहुँदा सास्ती भएको बताइन् ।
बिहान चिया समेत नपिएर विमानस्थल पुगेकी बाजुराकी दाना बढुवाल पनि विमान कुर्दै नेपालगन्जमा एक हप्ता बिताइन् । ४० वर्षीया उनी पनि काठमाडौंबाट उपचार गरेर बाजुरा फर्किदै थिइन् । तर, विमान अवरुद्ध हुँदा नेपालगन्जमै अलपत्र पर्नुप¥यो । ‘कतिबेला विमान आउँछ भनेर सोध्यो भने पनि महिलालाई सबैले हेपेर बोल्छन्’ उनले भनिन्, ‘विमानस्थल पुग्दै र फर्किदैमा रिक्सा भाडामा नै भएको पैसा सकिन्छ ।’
नियमित उडान हुन नसक्दा नेपालगन्जबाट कर्णाली लगायत हिमाली जिल्लाका यात्रुहरू निकै सास्ती खेप्न बाध्य छन् । विगतका वर्षहरू भन्दा यस वर्ष हिउँद लागेपछि नियमित हिमपात भएको छ । जसले गर्दा हिमाली जिल्लामा उडान गर्न नसकिएको नेपालगन्ज विमानस्थलले जनाएको छ ।

प्रकाशित मितिः   १८ फाल्गुन २०७५, शनिबार १६:३०