तीन पालिकालाई साढे आठ करोड अनुदान

साझा बिसौनी संवाददाता
सुर्खेत, १६ फागुन ।
जिल्लाका तीन वटा स्थानीय तहले संघीय सरकारबाट साढे आठ करोड रूपैयाँ अनुदान पाएका छन् । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् समपुरक अनुदान र विशेष अनुदान दिएको हो ।

यसरी सरकारबाट वित्तीय अनुदान प्राप्त गर्ने स्थानीय तहहरूमा पञ्चपुरी नगरपालिकासँगै बराहताल गाउँपालिका र चौकुने गाउँपालिका रहेका छन् । तीन वटा स्थानीय तहले गरी जम्मा आठ करोड ८३ लाख ४२ हजार रूपैयाँ अनुदान पाएका हुन् । जसमा पञ्चपुरी नगरपालिकाले समपुरक अनुदानतर्फ दुई करोड आठ लाख १६ हजार तथा विशेष अनुदानतर्फ दुई करोड ६३ लाख एक हजार प्राप्त गरेको छ । यसैगरी चौकुने गाउँपालिकाले समपूरक अनुदान वापत एक करोड ७७ लाख ७५ हजार र बराहताल गाउँपालिकाले विशेष अनुदान वापत दुई करोड ३४ लाख ५० हजार प्राप्त गरेको हो ।
स्थानीय तहले पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन गर्न कूल लागत अनुपातका आधारमा केन्द्र सरकारबाट समपूरक अनुदान पाउने व्यवस्था छ । स्थानीय तहलाई आधारभूत सेवाको विकास तथा आपूर्ति, अन्तर प्रदेश तथा स्थानीय तहको सन्तुलित विकास र विभेदमा परेको वर्ग वा समुदायको उत्थान र विकास गर्न विशेष अनुदान दिने व्यवस्था अन्तर सरकारी वित्त व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा छ । यस्तै स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेका पूर्वाधार तथा अन्य आयोजना र कार्यक्रम कार्यान्वयनमा क्रममा देखिने आर्थिक समस्यालाई सम्बोधन गर्नका लागि केन्द्र सरकारले समपूरक अनुदान सम्बन्धी कार्यविधिलाई कार्यान्वयनमा ल्याएको छ ।
स्थानीय तहले एक करोड रूपैयाँभन्दा माथिका पूर्वाधार विकासका आयोजना तथा कार्यक्रमका लागि मात्रै समपूरक अनुदान पाउनेछन् । समपूरक अनुदानबाट बन्ने आयोजना तथा कार्यक्रममा उपभोक्ता समूह तथा समितिहरू सहभागी हुन पाउने छैनन् । आयोजना तथा कार्यक्रमहरू सञ्चालन हुँदा त्यसको बजेट उपभोक्ता समितिहरूमार्फत् खर्च नहुने व्यवस्था कार्यविधिले गरेको छ ।
केन्द्र सरकारबाट प्राप्त समपूरक र विशेष अनुदानले सुर्खेतको पश्चिम क्षेत्रको विकासमा सघाउ पुग्ने निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद नवराज रावत बताउँछन् । उनले विकासमा पछि परेको पश्चिम सुर्खेतका महŒवपूर्ण आयोजनाहरू निर्माण गर्न यो बजेट उपयोगी हुने बताए ।
के हो समपूरक र विशेष अनुदान ?
समपूरक अनुदान भनेको निश्चित आयोजना वा विकास कार्यक्रमका निम्ति दिइने अनुदान हो । यसमा स्थानीय तहले यति रकम हामीसँग उपलब्ध छ, अब यति रकम केन्द्रले उपलब्ध गराइदेओस् भन्ने निवेदन गर्न सक्दछन् । यसरी पूरकका रूपमा उपलब्ध गराइने अनुदान नै समपूरक अनुदान हो ।
विशेष अनुदान भनेको विशेष कार्यक्रम सञ्चालनका लागि दिइने हो । उदाहरणका लागि अहिले कर्णाली क्षेत्रका लागि विशेष कार्यक्रम वा दलितका लागि विशेष कार्यक्रम हुनसक्छ, विशेष क्षेत्र, कार्यक्रम वा आयोजनालाई हेर्नका निम्ति यो विशेष अनुदान राखिएको छ ।
समपूरक अनुदान पाइने क्षेत्र समपूरक अनुदान प्राप्त गर्नका लागि १३ वटा क्षेत्र निर्धारण गरिएको छ । स्थानीय, ग्रामीण वा कृषि सडक, जलमार्ग, सहरी सडक वा प्रदेश लोकमार्गसँग सम्बन्धित सडक आयोजना–कार्यक्रमका लागि उक्त अनुदान प्राप्त हुन्छ । यस्तै विनतम प्रविधिको प्रयोग गरी प्रदेश वा स्थानीय तहबाट कार्यान्वयन गरिने सिँचाइ आयोजना–कार्यक्रम, विद्युत सेवाबाट वञ्चित रहेका तथा राष्ट्रिय प्रसारण लाइनको पहुँच नभएका क्षेत्रमा विद्युत सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेश वा स्थानीय तहबाट कार्यान्वयन हुने विद्युत उत्पादन तथा प्रसारण आयोजना–कार्यक्रम, मझौला तथा ठूला पूल निर्माण सम्बन्धी आयोजना–कार्यक्रम, खानेपानी आयोजना, प्रदेश विश्वविद्यालय, विद्यालय भवन निर्माण जस्ता शैक्षिक पूर्वाधार निर्माण सम्बन्धी आयोजनाका लागि सरकारले अनुदान उपलब्ध गराउन सक्ने व्यवस्था गरेको छ ।
त्यसैगरी स्वास्थ्यचौकी, अस्पताल तथा सोसँग सम्बन्धित आवश्यक पूर्वाधार निर्माण, ग्रामीण क्षेत्रमा एकीकृत बस्ती विकासका लागि कार्यान्वयन गरिने नमुना आवास आयोजना, कृषि उपजको भण्डार गृह तथा शित गृहहरू निर्माण, स्थानीय तहबाट निर्माण हुने तह र वडा कार्यालय रहने भवनहरू, सौर्य तथा वायु लगायतका वैकल्पिक ऊर्जा उत्पादनसँग सम्बन्धित आयोजना, नविन प्रविधिको प्रयोग गरी फोहोरमैलाको प्रशोधन र व्यवस्थापन गर्ने आयोजना तथा वन तथा वातावरण संरक्षण सम्बन्धी आयोजनाका लागि समपूरक अनुदान उपलब्ध हुन्छ ।

प्रकाशित मितिः   १७ फाल्गुन २०७५, शुक्रबार १६:५४