प्रध्यापक बन्ने लक्ष्य

वीरेन्द्रनगर नगरपालिका–११ की पूर्णीमा आचार्य सानैदेखि आज्ञाकारी थिइन् । बुबा प्रकाश आचार्य र आमा मनरूपा आचार्यको कोखबाट वि.सं. २०५७ साल कार्तिक ९ गते जन्मिएकी उनी विद्यालयमा समेत अनुशासित विद्यार्थी हुन् । पढाइमा राम्रो दख्खल भएकी उनलाई भविष्यमा प्रध्यापक बन्ने रहर छ । पेसा सँगसँगै समाज सेवामासमेत रुचि राख्ने पूर्णीमा अतिरिक्त क्रियाकलापहरूमा समेत दख्खलता राख्छिन् ।
कलेजमा राजनीतिको छायाँ पर्ने भए पनि पूर्णीमालाई कहिल्यै राजनीतिले छोएन । सामुदायिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी पूर्णीमा विशिष्ट श्रेणीमा उत्तीर्ण हुने पहिलो विद्यार्थी हुन् । विद्यालय भन्दा कलेजमा बढी अभिभावकत्व प्राप्त गरेको उनी बताउँछिन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय बीएससी दोस्रो सेमेस्टारमा अध्यनरत पूर्णीमाले आफ्नो कलेज लाईफको कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटिन्ः

म सानैदेखि आज्ञाकारी थिएँ । विशेष गरी विद्यालयमा शिक्षकहरुले भनेको कुरा मलाई पूरा गर्नैपथ्र्यो । त्यसैले पनि होला मैले पढाइमा पछाडि पर्नुपरेन ।
मेरो भविष्यको लक्ष्य भनेको प्रध्यापक बन्नु हो । बुबा–आमाले पनि त्यसमा सहयोग गर्दै आउनुभएको छ । उहाँहरुले मैले जुन पेसा गर्छु भने पनि सहयोग गर्नुहुन्छ ।
हामी घरमा दुई भाइबहिनी छौं । म भन्दा पछाडि भाइ छ । बुबा सरकारी सुब्बा हुनुहुन्छ भने आमा सहकारीमा व्यवस्थापक हुनुहुन्छ ।
मैले जुनसुकै पेसा अपनाए पनि समाज सेवामा समेत मेरो रहर छ । सानैदेखि म अतिरिक्त क्रियाकलापहरुमा समेत रुचि राख्थें । आजभोलि पनि मैले धैरै वक्तृत्वकलाहरुमा भाग लिइ प्रथम स्थान हासिल गरिसकेकी छु । वि.सं. २०७४ सालमा महिला जेसीजले जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो, त्यसमा प्रथम भएँ । त्यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालयले २०७३ मा आयोजना गरेको कार्यक्रममा पनि प्रथम भएँ र जिल्ला बाल सञ्जालले आयोजना गरेको वक्तृत्वकला कार्यक्रममा पनि प्रथम भएकी छु ।
कलेजको पहिलो दिन एकदमै रमाइलो भयो । बाबाले कलेजसम्म छोडिदिनुभएको थियो । नयाँ साथीहरुसँग पनि परिचय भयो । फर्कंदा पनि एकदमै रमाइलो भयो ।
कलेज बाहेक म दिनमा त्यस्तै तीन÷चार घण्टा पढ्ने गर्छु । मेरो प्राथमिक तहको अध्ययन ब्राईटल्याण्ड एकेडेमीमा भएको हो । त्यसपछि म श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गाग्रेतालमा अध्ययन गर्न थालें । प्लस टू भने ईगरब्रिज माध्यमिक विद्यालयमा साइन्स विषय लिएर पढ्न थालें । मलाई एसएलसी पास भएपछि साइन्स नै पढ्ने रहर थियो । बुबा–आमाले पनि यो विषय पढ त्यो विषय पढ कहिल्यै भन्नु भएन । अरुलाई विद्यलायमा कडा अनुशासन र कलेजमा फ्रि लाग्छ । तर मलाई विद्यालयमा खुल्ला र कलेजमा कडा अनुशासन लाग्यो ।
कलेजको राम्रो पक्ष भनेको शिक्षकहरुसँग मित्रवत सम्बन्ध, अभिभावकले जस्तै हेरचाह हुने भएकोले मलाई विद्यालय भन्दा कलेज नै राम्रो लाग्यो ।
कलेजको नराम्रो पक्ष भनेको कहिले काहीं बढी कियरिङ्गि हुने भएकोले त्यो नराम्रो पक्ष लाग्यो । मलाई फिल्म हेर्न, घुम्न, उपन्यास पढ्न र कविता लेख्न समेत उत्तिकै राम्रो लाग्छ । तर कलेजमा क्लास बंक कहिल्यै गरिएन ।
प्रेम सबैलाई गरिन्छ । घरपरिवार, आमा–बुवा, साथीहरु सबैलाई । तर केटा र केटी बीचको प्रेमबारे मलाई त्यति अनुभव छैन ।
म प्राथमिक तहको शिक्षा निजी विद्यालयमा पढेर सरकारी विद्यालयबाट एसएलसी पास गरेको व्यक्ति हुँ । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गाग्रेतालबाट २०७२ सालमा एसएलसी पास गरेकी हुँ । त्यो बेलामा विद्यालयको समेत वातावरण राम्रो थिएन । विद्यालयमा भएको विवादका कारण पढाइ बन्द थियो । तर घरमै पनि शिक्षकहरुले ठूलो सहयोग गर्नुभयो । त्यो स्थितिमा पासको त कल्पनै थिएन । फेल भइन्छकी भन्ने ठूलो डर थियो तर एसएलसीमा मैले विशिष्ट श्रेणीमा उत्तीर्ण गरें । त्योबेलामा खुशीको सीमा रहेन ।
दुःखको क्षण भन्नुपर्दा म उच्च शिक्षा अध्ययनको लागि काठमाडौं गएकी थिएँ । तर मलाई काठमाडौं बस्नै मन लागेन । काठमाडौंबाट यहाँ आउँदा कलेजले उतै बस्न दबाब दिएपछि त्यो बेलामा दुःख लागेको थियो ।

प्रकाशित मितिः   १८ फाल्गुन २०७५, शनिबार १६:२७