फुटबलमा सुर्खेत प्रथम
साझा बिसौनी संवाददाता
सुर्खेत, १६ फागुन ।
प्रदेशस्तरीय फुटबल प्रतियोगितामा सुर्खेतले प्रथम भएको छ । आठौं राष्ट्रिय खेलकुद छनौट अन्तर्गतको कर्णाली प्रदेशस्तरीय छनौट प्रतियोगितामा सुर्खेतले प्रथम स्थान हासिल गरेको हो । बिहीवार वीरेन्द्रनगर रङ्गशालामा भएको फाइनलमा सुर्खेतले हुम्लालाई ४–२ गोल अन्तरले हरायो । निकै प्रतिष्पर्धात्मक भएको खेलमा निर्धारित समयभित्र दुवै टिमबाट गोल हुन सकेन । निर्धारित समयमा गोल नभएपछि खेल ट्राइबेकरमा पुगेको थियो ।
ट्राइबेकरमा सुर्खेतका सुजन शाही, सुदिप गुरुङ, विजय शाही र धर्मेन्द्र शाहीले गोल गरे । हुम्लाका करण रावत र राजकुमार रोकायले गोल गरे पनि चक्रबहादुर लामा र लक्ष्मण बोहारले गोल गर्न नसक्दा खेल पराजित हुन पुग्यो । क्वाटरफाइनलमा जुम्लालाई हराएको सुर्खेत सेमिफाइनलमा कालिकोटलाई पराजित गर्दै फाइनल पुगेको थियो । लिग चरणका खेलमा दैलेखलाई हराएको हुम्ला सेमिफाइनलमा मुगुलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।
यस्तै बिहीवार नै भएको अर्को खेलमा कालिकोटलाई हराउँदै मुगले तेस्रो स्थान हासिल गर्न सफल भएको छ । निर्धारित ९० मिनेटको समयभित्र दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । ट्राइब्रेकरमा मुगुले कालिकोटलाई ३–१ गोल अन्तरले हराउँदै तेस्रो स्थानमा आफ्नो नाम दर्ता गरेको हो । खेल सकिन केही समय मात्र बाँकी रहँदा मुगुले पेनाल्टी पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेल ट्राइब्रेकरमा धकेल्लिएको थियो ।
साझा बिसौनी ।