क्यान इन्फोटेक हुँदै

सुर्खेत, १६ फागुन । (साबिस)
वीरेन्द्रनगरमा प्रदेशस्तरीय क्यान इन्फोटेक हुँदैछ । कम्प्युटर एशोसियशन नेपाल महासंघ (क्यान) सुर्खेतको आयोजनामा कर्णाली प्रदेश स्तरीय क्यान इन्फोटेक हुन लागेको हो । फागुन २४ गतेदेखि २८ गतेसम्म हुने इन्फोटेकको तयारी तीव्र पारिएको छ ।
इन्फोटेकमा सूचना प्रविधिको प्रदर्शनीका साथै प्रत्येक दिन आईटी सेमिनार हुने आयोजकले जनाएको छ । यसैगरी लक्की ड्रबाट हरेक दिन एक जनालाई रारा ट्रीप, कम्प्युटर प्रिन्टर र ल्यापटपका फ्रि सर्भिस, नेपाली वैज्ञानिकद्वारा निर्मित रोबोर्ट तथा अन्य प्रविधिहरूको प्रदर्शनी गरिने जनाइएको छ । विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, पियुबिजी गेम प्रतियोगीता, दृष्टिबिहीनहरूलाई कम्प्युटर तथा मोबाइल चलाउने सिकाइने व्यवस्था समेत गरिएको छ । सेवा तथा सामान खरिदमा पाँच देखि ५० प्रतिशतसम्म छुट दिने आयोजकले जनाएको छ साथै अनलाइन टिकेटिङमा निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ ।
इन्फोटेक सञ्चालनका लागि करिब ३६ लाख रूपैयाँ खर्च हुने क्यान महासंघ कर्णाली प्रदेश अध्यक्ष पूर्णदेव अधिकारीले जानकारी दिए । कर्णाली प्रदेशका १० वटै जिल्लाको सहभागिता रहने गरी आयोजना हुन लागेको उक्त इन्फोटेकको समन्वय क्यान महासंघ कर्णाली प्रदेशले गर्ने र त्यसको संरक्षकमा क्यान महासंघ नेपाल रहने आयोजकले जनाएको छ । यसअघि सुर्खेत शाखाको आयोजनामा सुण्डे क्यान इन्फोटेक २०१३ र के सेभेन क्यान इन्फोटेक २०१६ सम्पन्न भइसकेको छ । इन्फोटेकमा ७० वटा स्टल रहने आयोजक संस्थाका अध्यक्ष प्रेमप्रकाश चन्दले जानकारी दिए । अध्यक्ष चन्दका अनुसार मेलाभित्र आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरू डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार सञ्चालन हुनेछन् । सरकारी, गैरसरकारी तथा निजी क्षेत्र, शिक्षक, विद्यार्थी, शिक्षा तथा विज्ञान तथा प्रविधि क्षेत्रको उल्लेख्य सहभागीता हुने अपेक्षा आयोजकले गरेको छ । ‘यस प्रदर्शनीलाई सुर्खेतको लागि सूचना सञ्चार र प्रविधिको ठूलो प्रदर्शनीका रूपमा लिएका छौं’ अध्यक्ष चन्दले भने ।

प्रकाशित मितिः   १७ फाल्गुन २०७५, शुक्रबार १६:५२