‘बालविवाहले चुनौती’
सुर्खेत, १६ फागुन । (साबिस)
बालविवाहका कारण वडाहरूमा काम गर्न असहज भएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक कर्णाली प्रदेशको आयोजनामा स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूका लागि क्षमता अधिवृद्धि कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का अध्यक्ष नन्दलाल शर्माले वडा कार्यालयमा बालविवाहका कारण काम गर्न असहज भएको बताए । उनले भने ‘विवाह गर्दा १५ वर्षमा गर्छन् । नागरिकता, विवाह दर्ता गर्ने उमेरमा दुईवटा बच्चा जन्मिसकेका हुन्छन् । अब छोराछोरीको जन्मदर्ता गर्दा बाबुआमाको न नागरिकता छ न विवाह दर्ता ।’ त्यस्तै वीरेन्द्रनगर नगरपालिका–२ का वडा अध्यक्ष बलबहादुर रोकायले सामाजिक सञ्जालको दुरूपयोगले पनि बालविवाह बढेको बताए ।
कार्यक्रममा विकास र सैद्धान्तिक अवधारणाका विषयमा कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकाय, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका स्थानीय सवाल र समाधानमा स्थानीय तहको भूमिका विषयमा वीरेन्द्रनगरका प्रमुख देवकुमार सुवेदी र नगरमा देखीएका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा कमल लम्सालले प्रस्तुतीकरण राखेका थिए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं ११, वडा नं. २ र वडा नं. १० का जनप्रतिनिधि तथा मानवअधिकार निगरानी समूहका सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै ईन्सेक कर्णाली प्रदेशका संयोजक नारायण पौडेलले मानवअधिकारको पैरवीका लागि इन्सेक निरन्तर लागिरहेको बताए । त्यस्तै वीरेन्द्रनगर नगरपालीकाका प्रमुख देवकुमार सुवेदीले नगरलाई समृद्धितर्फ लैजानका लागि सम्पूर्ण अधिकारबाट जनतालाई लाभान्वित गराउने र त्यसको लागि आफूहरू लागि पर्ने बताए ।
साझा बिसौनी ।