‘सरकार प्रमुख नै रुन्चे’

सीता वली
सुर्खेत, १५ फागुन ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकारका प्रमुख नै रुन्चै भएको टिप्पणी गरेका छन् । बुधवारदेखि सुरु कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै शाहीले यस्तो टिप्पणी गरेका हुन् ।
नेतृत्व गर्ने र व्यवस्थापन मिलाउने दुवै क्षमता हुनुपर्ने भन्दै नेता शाहीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमा त्यो क्षमता नदेखिएको बताए । बरु मुख्यमन्त्री शाही रुन्चे नेताको रूपमा प्रस्तुत भएको उनको भनाइ थियो । तर सरकार प्रमुख आफै अरुसँग गुनासो गर्दै हिँडेकोतर्फ संकेत गर्दै कांग्रेस संसदीय दलका नेता समेत रहेका शाहीले यस्तो नेतृत्वबाट कर्णालीको विकास हुन नसक्ने बताए । ‘नेतृत्वमा लिडर र म्यानेजर दुवै क्षमता हुनुपर्दछ’ उनले भने, ‘तर यहाँ हाम्रा सरकार प्रमुख मन्त्रीहरूले केही गरेनन्, मैले भनेको मानेनन् भन्दै गुनासो गरिरहनुभएको छ । उहाँ आफै रुन्चे भएको देखियो, यसरी हुँदैन ।’


सरकारले पहिलो एक वर्षमा अपेक्षाकृत काम गर्न नसकेको आरोप पनि सांसद शाहीले लगाए । प्रदेशको राजधानी वीरेन्द्रनगरको अवस्था हेरेरै सरकारको कामको मूल्याकंन गर्न सकिने भन्दै उनले एक वर्षमा सरकारले कुनै परिवर्तनको अनुभूति गराउन नसकेको बताए । ‘सबैभन्दा पहिला प्रदेश राजधानीको विकासमा ध्यान दिऔं त्यसपछि अन्य क्षेत्रहरूमा पनि सोही अनुसार विकासमा लागौं भनेर मैले पटक–पटक भन्दै आएको छ’ शाहीले संसदमा भने, ‘तर त्यो भएन । धुलो उडेकै छ । परिस्थिति पहिला जस्तो थियो त्यस्तै छ । परिवर्तन केही पनि भएको छैन । अनि हामी स्मार्टसिटी बनाउने घोषणा गरिरहेका छौं, कसरी बन्नसक्छ ?’
उनले पछिल्लो समय विप्लव नेतृत्वको समूहबाट कर्णालीमा त्रास बढेको भन्दै शान्ति सुरक्षामा ध्यान दिनसमेत सरकारको ध्यानाकर्षण गराए । ‘शान्ति सुरक्षाको अवस्था गम्भीर छ । जाजरकोट र डोल्पामा डरलाग्दो अवस्था छ । हिजोको माओवादी जस्तै एउटा शक्तिले आफ्नै सत्ता सञ्चालन गर्न सुरु गरिसकेको छ । कर लगाउन थालिसकेको छ । पैसा नतिरेर अगाडि बढ्नसक्ने अवस्था छैन । ज्यानको खतरा छ, त्यसमा पनि सरकारले केही गर्न सकिरहेको छैन’ उनले आक्रोश पोखे ।
त्यसैगरी बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेता यामलाल कँडेलले कानुन निर्माण सँगसँगै बजेट कार्यान्वयनमा सबैले सहयोग गर्नुपर्ने धारणा राखे । साथ उनले संघीय सरकारले समयमै केही काम र निर्णय नगरिदिँदा त्यसको सजाय प्रदेशले भोग्नुपरेको समेत बताए । तर प्रतिकुलताकाबीचबाट पनि कर्णालीको विकास र समृद्धिको लागि सबै मिलेर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो ।
‘विकास र निर्माण हामी सबैको साझा उद्देश्य हो’ उनले भने, ‘सबैको उत्तिकै भूमिका
हुँदाहुँदै पनि नेकपाका सांसदहरू र त्यसबाट बनेको सरकारको बढी दायित्व र जिम्मेवारी रहेको कुरालाई हामीले बुझ्न जरुरी छ ।’ सरकारले जनअपेक्षा अनुसार काम नगरेमा त्यसको परिणाम सरकारको नेतृत्व गरिरहेको नेकपाले भोग्नुपर्ने उनको भनाइ छ । बिगतको एक वर्षको समीक्षा गर्दै बाँकी रहेको चार वर्षको अवधिमा जनतालाई विश्वास दिलाउने गरी सरकारले काम गर्नुपर्ने भन्दै नेता कँडेलले राजनीतिक मुद्दालाई होइन विकास र निर्माणलाई प्रमुख मुद्दा बनाएर अगाडि बढ्नुपर्ने बताए । त्यसैगरी राप्रपाकी सांसद सोशीला शाहीले कर्णाली प्रदेश सरकारले एक वर्षको अवधिमा उपलब्धिमूलक काम नगरेको बताइन् । उनले कुरा गरेर मात्र नहुने भन्दै काम गरेर देखाउनुपर्नेमा जोड दिइन् ।
बुधवारको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले दुईवटा विधेयक टेबुल गरेका छन् । कर्णाली प्रदेश सार्वजनिक प्रसारण सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको बिधेयक २०७५ र कर्णाली प्रदेशमा सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा बनेको विधेयक २०७५ बैठकमा टेबुल भएका हुन् । प्रदेश सभाको आगामी बैठक फाल्गुन १८ गते शनिवार दिउँसो १ बजेका लागि तोकिएको छ ।