‘महिलाहरू अझै विभेदमा’

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ फागुन ।
महिलाहरूमाथि अझै पनि विभिन्न बहानामा विभेद हुने गरेको भन्दै त्यसको अन्त्य गरिनुपर्ने सरोकारवालाहरूले बताएका छन् । एकाउन्टिबिलिटी ल्याबको आयोजना र तन्नेरीचासो सुर्खेतको समन्वयमा बुधवार वीरेन्द्रनगरमा भएको ‘हर स्टोरी स्क्रिनिङ तथा प्यानल डिस्कसन’ कार्यक्रमका सहभागी सरोकारवालाहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा नेपालमा हालको परिस्थितिमा महिलाका समस्या, चुनौती र अवसर तथा वास्तविकतामा आधारित ६ वटा ‘सट मुभी’ देखाएर त्यसमाथि छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागी वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाण ढकालले महिलामाथि हिंसा थोपर्ने परम्परागत कु–प्रथा र कु–संस्कार रोक्न नसकिएको धारणा राखिन् । उनले सबैको सहयोगले मात्र महिलाहरूले सफलता र समृद्धि हासिल गर्ने
बताइन् । जनप्रतिनिधि महिलाहरूले अझै पनि गृहणी र जनप्रतिनिधिको दोहोरो जिम्मेवारी पूरा गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले महिलाहरूले अझै पनि स्वतन्त्र भएर आफूले चाहेको काम गर्ने वातावरण बन्न नसकेको जनाइन् ।
पत्रकार एवम महिला अधिकारकर्मी टीका विष्टले सबै निकायहरूमा महिला तथा दलित समुदायको जुन रूपमा प्रतिनिधित्व हुनुपर्ने हो त्यो नभएको बताइन् । कार्यक्रममा प्रदर्शन गरिएको महिला जनप्रतिनिधिले आफू निर्वाचनमा जान श्रीमानले गाली गरेको र नाम राखिदिएर चुनाव जितिसकेपछि बल्ल थाहा पाएको भिडियो माथि बहस गर्दै विष्टले आरक्षणले सुनिश्चितता गरेकोले मात्रै यो सम्भव भएको र यस्तो समस्यामा रहेका महिलालाई सबैको सहयोगमा नेतृत्व गर्न सक्षम बनाउन सकिने जिकिर गरिन् । ‘हामीले भान्सादेखि
नीतिनिर्माण गर्ने ठाउँसम्म पुग्न महिलाहरूलाई सहज छैन’ उनले भनिन् । वीरेन्द्रनगर नगरपालिकाका सिनियर अनमी सीता शर्माले सामाजिक कुप्रथाहरूविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने धारणा राखिन् । मध्यपश्चिमाञ्चल विश्व–विद्यालयका उपप्रध्यापक रेशम विष्टले समाजले महिलालाइ अझै दोस्रो दर्जाको नागरिकको रूपमा हेपेको बताए । यसको अन्त्य गरिनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मितिः   १६ फाल्गुन २०७५, बिहीबार १६:४८