सुर्खेत र हुम्ला फाइनलमा

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ फागुन ।
आठौं राष्ट्रिय खेलकुद छनौट अन्तर्गत कर्णाली प्रदेशस्तरीय फुटबलको फाइनलमा सुर्खेत र हुम्ला भिड्ने भएका छन् । मंगलवार भएको सेमिफाइनलमा सुर्खेतले कालिकोटलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
सुर्खेतले कालिकोटलाई एकका विरुद्ध ६ गोलले पराजित गरेको हो । क्वाटरफाइनलमा जुम्लालाई हराएको सुर्खेत लगातार जीत हात पार्दै उपाधि नजिक पुगेको छ । यस्तै लिग चरणका खेलमा दैलेखलाई हराएको हुम्ला सेमिफाइनलमा मुगुलाई हराउदै फाइनल प्रवेश गरेको छ ।
वीरेन्द्रनगरको रङ्गशालामा भएको खेलमा मुगुलाई ३–१ गोल अन्तरले पाखा लगाउदै हुम्लाले स्वर्णपदका लागि सुर्खेतसँगको भिडन्त पक्का गरेको हो । यस्तै तेस्रो स्थानको लागि बुधवार कालिकोटले मुगुको सामना गर्ने भएको छ ।
प्रतियोगिता अन्तर्गत एथ्लेटिक्समा सुर्खेत प्रथम भएको छ भने जुम्ला दोस्रो स्थान ओगट्न सफल भएको छ । यस्तै ब्याडमिन्टनको पुरुषतर्फ सुर्खेतका निरन्जन चौधरी प्रथम भए । महिलातर्फ पनि सुर्खेतका सामना भट्टराई प्रथम भएकी छिन् भने सुर्खेतकै अग्रीमा भण्डारी द्वितीय र पुष्पा शाहीले तृतीय स्थान हासिल गरेका छन् ।

प्रकाशित मितिः   १५ फाल्गुन २०७५, बुधबार १६:४५