बदाम बेचेर जीविकोपार्जन

वीरेन्द्रनगर–१२ सुर्खेतकी धनलक्ष्मी सुनार वि.सं. २०३६ साल भदौ १५ गते साविकको तातोपानी गाविस जुम्लामा जन्मिएकी हुन् । बुबा गोपीचन्द्र सुनार र आमा काली सुनारको कोखबाट घरकी जेठी छोरीको रूपमा जन्मिएकी धनलक्ष्मी पढाइमा साक्षर मात्रै हुन् ।
सानैदेखि शितल स्वभावकी धनलक्ष्मीलाई पढ्ने रहर नभएको होइन, तर घरमा पढाउने वातारण नभएको कारण पढ्नबाट वञ्चित उनले बदम बेचेरै जीविकोपार्जन गरेकी छन् । वि.सं. २०५४ सालमा नेपाल प्रहरीका असई नन्दवीर सुनारसँग भागी विवाह गरेकी धनलक्ष्मीले विगत नौ वर्षदेखि बदम बेचेरै आठ जनाको परिवार पाल्दै आएकी छन् । निरक्षर भए पनि जीवन निर्वाहको लागि केही न केही गर्नुपर्छ भन्ने भावना बोकेकी धनलक्ष्मी सुनारले आफ्नो पेसागत जीवनको कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटिन्ः

म जुम्लामा जन्मिएँ । बुबाआमा कृषि गर्नुहुन्थ्यो । त्यो बेलामा पढ्ने भन्ने थिएन । त्यो पनि गाउँमा जन्मिएको मान्छे । छोरीलाई पढ्ने वातावरण थिएन । पढ्नेहरु त पढे तर मैले पढ्ने अवसर पाइनँ । पढ्ने उमेरमा गाईभैंसीको गोठालो गइयो । पढ्ने अवसर पाएको भए पढ्थें होला ।
म घरकी जेठी छोरी हुँ । म भन्दा पछाडि तीन भाइ र एक जना बहिनी छन् । म सानैदेखि शान्त स्वभावकी थिएँ । कसैसँग झगडा भन्ने गरिएन । मिलनसार स्वभावकै थिएँ । आज पनी म त्यस्तै स्वभावकी छु । मैले १८ वर्षको उमेरमा वीरेन्द्रनगर–१२ का नन्दविर सुनारसँग बिहे गरें । त्यो बेलामा उहाँ नेपाल प्रहरीको असई हुनुहुन्थ्यो ।
विवाहपछि मैले घरमै बसेर दिनहरु कटाएँ । तर मलाई त्यसै बस्न मन लागेन र विगत ९ वर्षदेखि बाटोको छेउमा बदाम बेचेर जीवन निर्वाह गर्दै आएकी छु । श्रीमान्ले पनि जागिरबाट अवकाश लिनुभयो । उहाँको पेन्सनले मात्रै हाम्रो आठ जनाको परिवारको खर्च धान्न सकिदैंन । मैले बदाम बेचेरै महिनामा १० हजार जति कमाउने गरेकी छु । जसले गर्दा घर खर्च चलाउन पनि केही सहज भएको छ ।
हरेक दिन बिहान १० बजे घरबाट निस्कन्छु । दिनभरी बदम बेन्छु । साँझ पाँच बजे घर फर्किन्दछु । मेरो दैनिकी नै यही हो । महिनाको करिब १० हजार कमाएकै छु । त्यसैमा सन्तुष्ट छु । आफूजस्तै नपढेका र बेरोजगार भइयो भनेर जीनलाई धिकार्नेहरुको लागि म उदाहरण बनेकी छु भन्ने लाग्छ । पेसा र व्यवसाय जे गर्दा पनि हुन्छ । जसले समाज र परिवारलाई सन्तुष्टि भने दिन सक्नुपर्छ ।
बेरोजगार भइ बसेका दिदीबहिनीहरुलाई सानो तिनो व्यवसायमा भए पनि आफूलाई व्यस्त राख्नको लागि अनुरोध गर्न चाहन्छु । जसले गर्दा आफूलाई केही आम्दानी र सन्तुष्टि हुन्छ । अरुको अगाडि हात थाप्नुपर्दैन । आफू सक्षम भइयो भने कसैले हेप्ने कुरा पनि हुँदैन । पेसा सानो र ठूलो हुन्छ जस्तो मलाई लाग्दैन । धेरैले पेसालाई शानको रुपमा लिन्छन् तर मैले पेसालाई जीवन निर्वाहको बाटोको रुपमा लिन्छु त्यसैले मेरो पेसा मेरो लागि सवथोक हो ।

प्रकाशित मितिः   १५ फाल्गुन २०७५, बुधबार १६:३९