कर्णालीका मुख्यमन्त्रीलाई पत्र
विनोदकुमार न्यौपाने
मुख्यमन्त्रीज्यूले आफ्नो एक वर्षे कार्यकालको समीक्षा गर्दै ‘फस्र्ट डिभिजन’ ल्याएको जिकिर गर्नुभयो । तर यो ‘ग्रेडिङ’को जमाना हो, यहाँ फस्ट डिभिजन भनेको ‘बी’ ग्रेड अर्थात् तेस्रो तह हो । तपाईंकै समीक्षामा तपाईं पहिलो वर्ष तेस्रो तहमा उत्तीर्ण हुनुभएको छ । र, यो नतिजा सन्तोषजनक मात्रै हो । तेस्रो तहमा उत्तीर्ण हुँदा पनि किन यति बिघ्न खुशी हुनुभएको ? अनि हामिले तेस्रो हुनको लागि हजुरलाई दुई तिहाइ जनमत दिएको होइनौं । हामीलाई त ‘ए प्लस’ नतिजा चाहिन्छ, चाहन्छौं ।
सुनेको थिएँ, मुख्यमन्त्रीज्यूले कतै भन्नु भएको थियो रे ‘कर्णालीभित्र मैले नदेखेको कुनै ठाउँ छैन । कहाँ स्याल बस्ने दुलो छ, कहाँ बाघ बस्ने ओडार छ सबै कुराको जानकारी छ ।’ यसैको मानेमा हेर्ने हो भने हामी कर्णालीबासीले आफूलाई भाग्यमानी ठानेको छौं । हाम्रो घरको आगनमाथी राखेको ढुङ्गा चिन्न सक्ने व्यक्ति, १० वर्षसम्म हामीले नै खाएको थालीमा भात खानु भएको व्यक्तिलाई नै हामीले हाम्रो वर्तमान र भविश्य दुवै सम्हाल्न दिएको छौं । हिजोको दिनमा हामीसँग एक÷एक रूपैयाँ चन्दा मागेर हाम्रै लागि लड्नु भएको व्यक्ति हाम्रो मुख्यमन्त्री बन्नु भएको छ । मैले हात समाएर ताते–ताते सिकाउने मेरा बाको औंलाहरूले तपाईंको लागि बन्दुक बोक्नु भएको छ । हामीलाई यसमा गर्व छ । यसैकारण पनि हामीले हजुरसँग धेरै कुराको आश गरेको छौं । हामी विश्वस्त पनि छौं कि हजुरले हाम्रो प्रत्येक समस्यालाई आफ्नै आँखाले देख्नुभएको छ ।
मुख्यमन्त्री ज्यू,
हिजो हजुरसँग पाइलामाथी पाइला राख्ने कोही व्यक्तिलाई चिन्नुहुन्छ ? हिजो हजुरलाई बचाउनकै लागि ज्यानको बलिदान दिएको ती महान् सहिदहरूको छोराछोरी र जवानी बित्न नपाउँदैन सेतो पहिरन बाध्य भएकि ती विधवाहरूलाई चिन्नुहुन्छ ? कसरी यति सजिलै बिर्सनुभयो त आफूले भोकै बसेर हजुरको लागि खाना पकाएर खुवाएकी ती बुढी महिलाको विवशतालाई अनि कसरी बिर्सनुभयो त मुख्यमन्त्रीज्यू जसले सरकारलाई कुरा लगायो वा एक शब्द बोल्यो भन्ने सुनाएकै भरमा हातगोडा बाँधेर श्वास नफुस्किन्जेलसम्म लौरोले शरीरमा धोवी चुटाइँ गरेको ? अब अलि कति सम्झिने प्रयास गर्नुस् न है ।
विगत भनेको विगत नै हो, अब कसैले चाहेर पनि फर्काउन सक्दैन । अब ती वृद्ध आमाले हजुरको घरमा एक छाक खाना खान आउन पनि चाहेकी छैनन् र निर्दोश बुढा बाले हजुरको धोबी चुटाइ हजुरलाईं नै फिर्ता गर्न पनि चाहेको छैनन् । हिजो आफूले गरेको संर्घषको प्रतिफल नै आज प्रदेश सरकार बन्यो र हजुर नै सर्वोच्च स्थानमा पुग्नुभयो । अब त एक चोटी पछाडी फर्केर सोच्ने कि ? अब समस्या समाधानको सुरुवात गर्ने हो कि ? हिजोका गोरेटो बाटोहरूलाई अब त सडक सञ्जालमा जोड्ने हो कि ? हिजो बगेको खोलाको फोहोर पिएको ठाउँमा अब सफा पानीको धाराहरू पु¥याउने पो हो कि ? हिजो हरेक गाउँको डाँडाहरूमा राँके जुलुश गरेको ठाउँमा अब बिजुली बत्तीले झिलिमिली गर्ने पो हो कि ? हिजो हजुरसँगै बन्दुक बोकेर हिँडेकाहरूलाई अब त एउटा रोजगारी प्रदान गर्ने पो हो कि ? हिजो रातदिन लुकेर बिताएका ती ओडारहरूलाई महŒवपूर्ण पर्यटकीय स्थलका रूपमा विकास गर्ने पो हो कि ? हिजो शरीरमा गोली लाग्दा उपाचार गरेको ती झारपातहरूलाई संकलन गरेर औषधि उद्योग निर्माण गर्ने पो हो कि ?
मुख्यमन्त्रीज्यू,
एक विदेशी लेखकले लेख्नु भएको थियो कि ‘कर्णाली क्षेत्र त सुनमाथी ओछ्याइएको बोरा हो जबसम्म नेपाल सरकारले उक्त बोरालाई उठाउन सक्दैन तबसम्म नेपालको विकास असम्भव छ ।’ नेपाल सरकारले त कर्णालीको बोराहरू उटाउन सकेन अब कर्णाली बासीकै हातमा दिएको छ नि हैन र ?
कर्णालीबासीको आफ्नै सरकार बनेको पनि वर्षदिन पुगिसक्यो । अब एकचोटी केलाउनुस् न है कर्णाली प्रदेश सरकारबाट जनताले कति अपेक्षा राखेको छन भन्ने कुरा । कर्णालीवासिहरू यो गरिबीबाट सदाको लागि मुक्ति चाहन्छन् । बिहान र साँझ दुई छाक खानको लागि भारत लगायतका विदेशी भूमिमा गएर कुकुरले नपाउने दुःख पाउन चाहदैनन् । कतार र मलेसिया आज विश्वको सबैभन्दा धनी देश बन्न लागिसके हाम्रै खुन पसिनाले तर हामी कर्णालीबासीहरूको अवस्था जस्ताको त्यस्तै छ मुख्यमत्रीज्यू ।
साउदी र मलेसियामा चिल्ला सडक बनाउने नेपालीले आफ्नो घरको आँगनमा मोटर बाटो पुगेको देख्न पाएका छैनन् । विदेशमा गई गगनचुम्बी महल बनाउने नेपालीले आफ्नो झुपडी बदल्न सकेको छैनन् नि किन होला ? सरकारले के गर्दैछ भन्ने कुरा आफैले पनि बुझ्नुपर्यो नि । चुनाव भएको एक वर्षभन्दा बढी समय बितिसक्दा के २० प्रतिशत विकास निर्माणका कार्य सम्पन्न भए त ? के जनताको गरिबीमा २० प्रतिशतले कमी आयो त ? विदेश जाने युवाहरूमा २० प्रतिशत कमी आयो कि आएन ? के आर्थिक वृद्धिदरमा अपेक्षित रूपले वृद्धि भयो ? किन भएनन् त ? कहाँनिर गल्ती र कमी कमजोरीहरू भए ? कसले कहाँ के गल्ती ग¥यो ? विश्लेषण गर्नुभयो त ? एक वर्षे कार्यकालको समीक्षा भइरहँदा यस्ता प्रश्नहरूको समीक्षा गर्नुभयो कि भएन ? हामीले के पायौं त हजुरको कार्यकालबाट ? हामीले हाम्रो मतको परिमाण के पायौं ?
मुख्यमन्त्रीज्यू स्वयम्ले नेपाली क श्रेणीको द्वन्द्वपीडित भत्ता स्वरूप मासिक १२ हजार लिँदै आएको समाचार सार्वजनिक भए । मुख्यमन्त्रीज्यू स्वयम्ले आफ्नी श्रीमतीलाई विद्यालयमा पढाउन नपठाएर नै मासिक तलब लिँदै आएको कुरो बाहिर आयो । के यो सबै सत्य हो मुख्यमन्त्री ज्यू ? हामीले दिएको दुई तिहाइ मतको परिणाम यही पाएको हौं ? कर्णाली प्रदेशलाई विश्वकै उत्कृष्ट प्रदेश बनाइदिन्छु भन्नुको तात्पर्य यही हो ? यदि यो सबैकुरा गलत हो भने किन हजुरले यो सबै गलतको भनि प्रमाणित गर्नु भएन नि ? किन वास्तविकता र सत्यता बताउन डराउनुभयो ?
हजुर प्रायः एउटै कुरा भन्नु हुन्छ । कर्णालीबासीलाई आकाशको सपना देखाउनु हुन्छ । वडो आदर्शको कुरा गर्नुहुन्छ । विश्वकै उत्कृष्ट प्रदेश पछि बनाउँला, यहाँ तिब्बतबाट रेल पछि ल्याउँला, यहाँका भेरी र कर्णालीबाट हजारौं मेगावाटको विद्युत निकालेर भारत, बंगलादेश, भुटान, थाइल्याण्डलाई र म्यानमारलाई पछि बेचौला । तर अहिले यस्ता केही प्रश्नको उत्तर दिनुहोस् न है । कर्णालीका जनताले पेटभरी शुद्ध खानेपानी कहिले खान पाउँछन् ? सबै जनताको छोराछोरीले कहिले उज्यालोमुनी बसेर पढ्न पाउँछन् ? कहिले कर्णाली प्रदेशको सबै ठाउँमा मोटरबाटो निर्माण भएर जनताले गधा बन्नुपर्ने दिनको अन्त्य हुन्छ ? कुन दिनदेखि कर्णालीको जनताले झाडापखाला, हैजा, जस्ता सामान्य रोगहरूको कारणले मर्नुपर्दैन ? एउटा एम्बुलेन्स नभएर कहिलेदेखि सुत्केरी महिलाले असामयिक ज्यान गुमाउने अवस्थाको अन्त्य हुन्छ ?
छातीमाथि हात राखेर हामी भन्न तयार छौं मुख्यमन्त्रीज्यू, हजुरले कर्णालीबासीको चाहना अनुरूप सरकार चलाउन सक्नु भएको छैन । हजुर र हजुरको सम्पूर्ण सरकार फेल भएको छ, यो एक वर्षमा । हामिले खोजेको सरकार यो होइन मुख्यमन्त्री ज्यू, हामी चाहन्छौं सरकारले पहिले हाम्रो आधारभूत आवश्यकता पूरा गरिदेओस् । पहिले खाना, नाना र छानाको सुरक्षित गरिदेओस्, हरेक वर्ष कुहिएर जाने स्याऊले बजार पाओस्, दुल्लूको सुन्तला बारीमै झर्ने अवस्था नाअओस्, सल्यानको टिमुर बोटमै नसुकोस् र अदुवा माटोमुनी नै कुहिने अवस्था नआओस्, हामीलाई प्रकृतिले दिएको हरेक उपहारहरूको सदुपयोग गर्न पाऔं, बस् यत्ति भए पुग्यो मुख्यमन्त्रीज्यू ।
हामी कामना गर्छौं, तपाईंको आगामी चार वर्ष पहिलो एक वर्ष जस्तै नहोस् । हामीले भन्न पाउँ, महसुस गर्न पाउँ कि कर्णाली प्रदेश सरकार ‘ए प्लस’ नतिजा ल्याउन सफल भयो ।
(समृद्ध कर्णालीको सपना देख्ने मान्छे कर्णाली प्रदेश, सुर्खेत)
साझा बिसौनी ।