क्रिकेटमा सुर्खेतलाई स्वर्णपदक

साझा बिसौनी संवाददाता
सुर्खेत, १३ फागुन ।
कर्णाली प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा सुर्खेत प्रथम भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको प्रदेशस्तरीय छनौटमा सुर्खेत प्रथम भएको हो । सोमवार भएको फाईनलमा रुकुम पश्चिमलाई २६ रनले हराउदै सुर्खेतले स्वर्णपदक जितेको हो ।
लिग चरणका खेलमा सल्यान र दैलेखलाई पराजित गरेको सुर्खेत फाईनलमा रुकुमलाई पाखा लगाउँदै बिजेता बनेको हो । टस जितेर पहिले ब्याटिङ्ग गरेको घरेलु टोली सुर्खेतले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । सुर्खेतका लागि प्रकाश जैशीले ३७ र निश्चल रावलले ३० रनको योगदान दिए ।
एक सय ४४ रनको लक्ष्य पछ्याएको रुकुमले १६ दशमलब चार ओभरमा सबै विकेट गुमाएर मात्र एक सय १६ रन बनाउन सक्यो । रुकुमका हेमन्त वलीले २५, बिजय विष्टले १८ रन जोड भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन समेत जोड्न सकेनन ।
यस्तै सोमवार नै भएको अर्को खेलमा दैलेखलाई पराजित गर्दै सल्यान तेस्रो स्थान हासिल गर्न सफल भएको छ । कालुञ्चोक मैदानमा भएको खेलमा सल्यानले दैलेखलाई एक सय २८ रनको फराकिलो अन्तरले हराएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सल्यानले १५ ओभरमा पाँच विकेट एक सय ६८ रन बनाएको थियो । जसमा दिनेश अधिकारीले ८० रन बनाए भने आसिस सिंहले २० रन जोडे । एक सय ६९ रनको लक्ष्य लिएर मैदान उत्रिएको दैलेखले नौ दशमलब पाँच ओभरमा सबै विकेट गुमाएर मात्र ४० रनमा समेटियो ।
यसैगरी फुटबलतर्फ कालीकोट र हुम्लाले जीत हात पारेका छन् । ट्राइब्रेकरमा कालिकोटले रुकम–पश्चिमलाई ७–६ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । यस्तैगरी अर्को खेलमा हुम्लाले दैलेखलाई ३–१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । प्रतियोगिता अन्तर्गत आज (मंगलवार) बिहान क्वाटरफाएनलको अन्तिम एक खेल भएपछि सेमिफाइनल चरणका खेलहरू सुरु हुने जनाइएको छ ।
यस्तै एथ्लेटिक्स एक हजार पाँच सय मिटर दौडमा महिलातर्फ जुम्लाका राममाया बुढा प्रथम, सीता न्यौपाने द्वितीय र कालिकोटका ममिता बुढा तृतीय भएका छन् । पुरुषतर्फ जुम्लाका नरेश बुढा प्रथम, कालिकोटका सन्तोषनाथ योगी द्वितीय र सुर्खेतका सुशील राम्जाली तृतीय हुन सफल भए । प्रदेश खेलकुद परिषद् कर्णाली प्रदेशका प्रचार–प्रसार समिति संयोजक अर्जुनजङ्ग शाहीका अनुसार एक सय मिटर दौडमा महिलातर्फ सुर्खेतका सेरना सिरपाली प्रथम, कालिकोटका रसुदा शाही द्वितीय र सल्यानका खीमा आचार्य तृतीय भएका छन् । पुरुषतर्फ जाजरकोटका यामसाजन सुनार प्रथम, सल्यानका सुशील केसी द्वितीय र सुर्खेतका पवनकुमार बिसी तृतीय भएका छन् ।
सटफुटमा पुरुषतर्फ सुर्खेतका तिलक विक प्रथम, सुर्खेतकै पदम परियार द्वितीय र रुकुम पश्चिमका हर्क विश्वकर्मा तृतीय हुँदा महिलातर्फ कालिकोटका निरुताकुमारी शाही प्रथम, सुर्खेतका प्रतिमा थापा द्वितीय र कालिकोटका रसुदा शाही तृतीय भए । लङजम्पको पुरुषतर्फ सल्यानका सुशील केसी प्रथम, जाजरकोटका यामसाजन सुनार द्वितीय र रुकुम पश्चिमका हेमन्त विक तृतीय स्थान हासिल गरे । महिलातर्फ सुर्खेतका आशा विक प्रथम, हुम्लाका जयलक्ष्मी हमाल द्वितीय र सल्यानका सुशीला राना तृतीय बनेका छन् ।

प्रकाशित मितिः   १४ फाल्गुन २०७५, मंगलवार १६:३८