लेखकको उत्तरदायित्व

उपेन्द्र खड्का
हरेक युगान्तकारी परिवर्तन वा हरेक युगले एउटा इतिहास रचेको हुन्छ । इतिहास आफैमा पूर्ण हुँदैन । एउटा लेखकको सहायताले त्यसलाई थप पूर्ण बनाउन सहयोग पुग्दछ । प्रत्येक भूत र वर्तमानका आयामहरू पनि लिपिवद्ध हुन आवश्यक छ । जसको जडसुत्र एउटा लेखाइ पनि हो । लेखाइ आफैमा पूर्ण हुन्छ । जस्ता अपूर्ण अक्षरहरूमा पनि अर्थपूर्ण निस्कन्छ । त्यसैले कोही लेख्नलाई लेखक बन्छन् त कोही लेखक बन्नलाई लेख्छन् । हाम्रो समाज विविध यस्ता घटनाक्रमबाट पन्छिन सकेको छैन । साँच्चै भन्नुपर्दा पन्छिन आवश्यक पनि छैन । हुनसक्छ व्यक्तिपूरक विचारहरूको मतभिन्नता भइरहन्छ र विचारहरूको उत्पत्ति पनि भइरहन्छ तर विचारहरूको उत्खनन् केन्द्र भने व्यक्ति हुन सक्दैन । त्यसैले विचार व्यक्तिपूरक सबैलाई वस्तु केन्द्रित चेत अवगत गराउँदछ । प्रयोगशालाको अस्त्र भनेकै विचार हो । विचारको अन्वेषण भनेकै वस्तु माथि हुन्छ । यदि लेखन कला तपाईंको विचारमाथि ठोकिन्छ भने लेखक तपाईं वस्तुमा शूत्रवद्ध भइसक्नुभएको हुन्छ । त्यसपछि तपाईं लेखक बन्नलाई लेख्ने कलाको औचित्य देख्नु हुने छैन ।
हाम्रो समाजमा लेखन सम्बन्धी दुई प्रकारका मान्छेहरूको बसोबास छ । एक प्रकार भनेको लेख्नका लागि लेखक बन्ने र अर्को प्रकार भनेको लेखक बन्नका लागि लेख्ने गरी समाजमा लेखकहरू विभाजित भएका छन् । यी दुई थरिमा विभाजित लेखकहरूको विचार मिल्दैन । लेख्नका लागि लेखक बनेकाहरू जहिले पनि आफूलाई उचित बाटोमा हिँडेको तर्क गर्छन भने लेखक बन्नका लागि लेख्नेहरू पनि सबैकुरा नाम र दामको लागि गरेको स्वीकार्छन् । उनीहरूको जुनसुकै तर्क वितर्कले कार्यमा भने प्रभाव नपर्नुपर्ने हो तर विडम्बना यी दुई प्रकृतिका मान्छेहरू बीच लेख्ने विषय वस्तुमा आकासपातलको फरक देखिन्छ ।
लेख्नको लागि लेखक बनेकाहरू हरेक विषयवस्तुलाई सावधानीपूर्ण तरिकाले तौलिन्छन् । सरल र सहज रूपमा पाठकसामू प्रस्ट्याउन सक्षम हुन्छन् तर लेखक बन्नका लागि लेख्नेहरू जुनसुकै विषयवस्तुमा लेख्दा पनि टिप्पणी मात्र गर्ने खालका हुन्छन् । हरेक कुरालाई त्रुटीसँगत रूपमा व्याख्या गर्छन् आफू अनुकूल लेख्ने प्रयास गर्छन् । पाठकवर्गमा पर्न जाने असरबारे सोच्दैनन् । लेख्नका लागि लेखक बन्नेहरू गल्तीको जिम्मेवारी लिन्छन् र सावधानीपूर्वक अगाडि बड्छन् । आज हाम्रो नेपालमा लेखकहरू पत्रकारहरू जुन विषयवस्तुमा लेख्न खोजिरहेका छन् उनीहरू आफू अनुकूल लेख्दैछन् । उनीहरू आफ्नो विज्ञापनमा लेख्दैछन् । उनीहरू चर्चा परिचर्चाको बारेमा लेख्दैछन् । एउटा राजनीतिक पार्टीको पक्षमा लेख्दैछन् । एउटा नेताले बोलेको शब्दको बारेमा टिप्पणी लेख्दैछन् । अब पाठकहरूले भने विविध त्यस्ता अस्वभाविक लेखवटबाट के आशा गरेका हुन सक्छन् ।
आज लेखन कार्यमा कांग्रेस निकट जति पनि लेखक साथीभाइहरू छन् उनीहरू सबैको सरकार विरुद्धमा लेख्ने जिम्मेवारी पाएझै लेख्छन् । अनि वाम गठबन्धनका आस्थावान साथीहरूको प्रतिपक्षलाई पन्छाएर लेख्ने बानी बनेको छ । एक प्रकारले भन्ने हो भने लेखन कार्यमा पनि फोहोरी खेलको अभ्यास भएको छ । जिम्मेवारीपूर्ण लेखकहरू गैर जिम्मेवारीपूर्ण राजनीतिमा फसेका छन् । कुनै पनि रेडियो, पत्रिका टेलिभिजन र सामाजिक सञ्जाल लगायतका सञ्चार क्षेत्रबाट आफ्नो पार्टी निकटका लेख रचना समचारहरू मात्र प्रचार–प्रसार हुँदा सामान्य जनतामाझ कस्तो प्रभाव परेको होला ? यो कुराको उत्तरको जिम्मेवारी कसैले लिँदैन । लेखक वा वक्ताहरू आफूलाई जहिले पनि गैर जिम्मेवारी कार्यमा संलग्न हुँदाहुँदै पनि जिम्मेवार भएको तर्क प्रस्तुत गर्छन् ।
लेखन कला एउटा सु–स्पष्ट र त्रुटीरहित हुनुपर्छ । लेखकले समाज देश र समग्र विश्वको समस्या एउटा प्रतिविम्बको रूपमा उतार्नुपर्छ । एउटा वर्गलाई पन्छाएर अर्को वर्गलाई उचाल्ने गरी लेखिन कुनै पनि लेखवटको औचित्य देखिदैन । आजका हाम्रा लेखकहरू पनि वर्गमा विभाजित भएका छन् । एउटा वर्ग लेखक बन्नका लागि लेख्दछ भने अर्को वर्ग लेख्नका लागि लेखक बन्ने दौडमा देखिन्छ । यी वर्गको अन्त्य वा समाप्ती हुनै पर्छ । विभिन्न वर्ग संघर्षका पिडाहरू लिपिवद्ध रूपमा लेख्ने लेखकहरू पनि वर्गमा विभाजित भए भने लेखन शैलिले कुन रूप लिने हो ? लेखकहरूका लागि चिन्ताजनक विषय बनेको छ ।
कुनै राजनीतिक पार्टीबाट संरक्षीत लेखकहरूको लेखाइमा फरक नपर्ला र उनीहरू आफ्नो पार्टी वा संगठन अनुरूप लेख्दै जालान तर लेखन कलालाई, पेसा सम्हालेका लेखकहरू माथि भने गम्भीर विषय बनेको छ । व्यवसायिक पत्रकारहरू माथि सरकारले अंकुश लगाउने प्रयास गरेको छ । उनीहरूले गैरजिम्मेवार रूपले लेख्न पाउने छैनन् । ठोस प्रमाणको आधारमा लेख्नुपर्नेछ । यो कुरा एक ढङ्गबाट राम्रो हो भने अर्कोतर्फ पत्रकारमाथि पनि अन्याय भएको प्रष्ट देखिन्छ । किनभने उनीहरूले अब मनोविश्लेषण रूपले लेख्न पाउने छैनन् । त्यसका लागि लेखकहरू आफै लेखक बन्नका लागि नभइ लेख्नका लागि लेखक बनेको प्रष्ट पार्न मैदानमा उत्रिनुको विकल्प छैन । लेखकहरू पाठकको मन जित्ने उद्देश्यले आफ्नो लेखाइमा त्रुटी भएको देख्दैनन् । यो भ्रमपूर्ण अभ्यास हो । अझ कति लेखकहरू व्याङ्गात्मक शैलीले थप उत्तेजित बनेका हुन्छन् । त्यस्ता आवेगहरू नियन्त्रण गर्न जरुरी छ । लेखाइमा विशिष्टता हासिल गर्नैपर्छ । लेखाइ आफैमा पेसा हो । आफ्नो पेसालाई मल जल गर्नुपर्छ, गोडमेल गर्नुपर्छ, काँटछाँट गर्नुपर्छ र दिनहुँ जसो निग्रानी गरिरहनुपर्छ । लेख्ने पेसामा आवद्ध सम्पूर्ण लेखकहरूलाई के आग्रह गर्दछु भने समाजमा जीर्ण बनेका आवाजहरू लेख्नुहोस्, राष्ट्रका भत्किएका प्रखालहरू लेख्नुहोस्, कुनाकन्दरामा लुकेका पीडाहरू लेख्नुहोस्, र अन्य विभिन्न परिवर्तनका आयामहरू लेख्नुहोस् साथै गरीब र पिडी जनताको हालत उल्था गर्नुहोस् । गैरजिम्मेवार नेताको अभिव्यक्ति लेख्न बन्द गर्नुहोस्, व्यांग्यात्मक शैलीमा कसैको मानहानी हुने विषयवस्तु नलेख्नुहोस् । एउटा पर्टीका समर्र्थनमा वकालत नलेख्नुहोस् । लेख्नै पर्ने विषयवस्तु लेख्नुहोस् । अनावश्यक विषयवस्तुको लेखाइ किनारा लगाइदिनुहोस् । तपाईं लेखकहरू देशको भविश्य लेख्न सक्नुहुन्छ । देशमा सुशासनको निम्ती कलम चलाउन सक्नुहुनछ । मार्ग निर्देश र मार्ग प्रशस्तको लागि आफूलाई उभ्याउन सक्नुहुन्छ । लेखक बन्नका लागि लेख्ने कलाको अन्त्य गरी लेख्नका लागि लेखक बनी देशको मेरुदण्ड बन्न सक्नुहुन्छ ।
तपाईं लेखकहरूको गैरजिम्मेवारपनाले लेख्नैपर्ने विषयवस्तु छुट्न सक्छन् । कसैको आलोचना र कसैको समर्थनमा लेख्ने तपाईंको लेखन पेसा नै धरासायीमा पुग्न सक्छ । त्यसैले पेसा नै धर्म हो । धर्मको बाटो हिँड्नुहोस् । अन्याय र अत्याचारमा परेका साथै मुलबन्द भएका आवाजहरू लेख्नुहोस् । यसैमा आनन्द र जिम्मेवारी समेटिएको छ ।

प्रकाशित मितिः   १४ फाल्गुन २०७५, मंगलवार १६:३७