अवैध अफिम खेती नष्ट
साझा बिसौनी संवाददाता
सुर्खेत, १२ फागुन ।
अवैध रूपमा गरिएको अफिम खेती सुर्खेत प्रहरीले नष्ट गरेको छ । जिल्लाको लेकबेशी नगरपालिका–८ लामिडाँडामा गरिएको लागू औषध अफिमको खेती नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले ६ विगाह जग्गामा गरिएको अफिम खेती नष्ट गरेको हो ।
लामीडाँडा सदरमुकाम वीरेन्द्रनगरदेखि करिव चार घण्टाको दूरीमा पर्छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रदिपबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार ६ विगाह जग्गामा करिब एक लाख रूपैयाँ बराबरको अफिम खेती गरिएको थियो । अन्नबालीभन्दा अवैध लागूऔषध अफिम मह“गो मूल्यमा बिक्री हुने भएकाले स्थानीय अफिमको खेती गर्छन् । नियमित अन्नबालीको खेतीभन्दा अवैध अफिम खेतीमा कम लगानी र परिश्रम पनि धेरै गर्नुनपर्ने भएकाले स्थानीयले जोखिम मोलेर भए पनि यसको खेती गर्दै आएका छन् ।
अफिम खेती भएको जानकारी पाए लगत्तै प्रहरीले नष्ट गरेको डीएसपी क्षेत्रीले बताए । ‘भारतबाट कपडा बिक्री गर्न आएका व्यापारीहरूले तरकारीको बीउँ भनेर स्थानीयलाई दिएपछि रोपेको हो भन्ने छ’ उनले भने, ‘भिरपाखा जताततै अफिम उम्रिएकाले कसले रोप्यो भन्नेबारेमा खुलेको छैन ।’
व्यक्तिको पहिचान नखुल्दा अफिमका खेतीवालहरू सजिलै पक्राऊ पर्दैनन् । गाउँघरदेखि टाढा र भीरपाखाको ऐलानी जग्गामा खेती गर्ने हुनाले जग्गाधनी पत्ता लगाउनसमेत कठिन हुनेगर्छ । अफिम खेतीबारे सोधखोज गर्दा स्थानीयले समेत सही जानकारी नदिने हुँदा अवैध अफिम खेती नियन्त्रण गर्न समस्या भएको उनले जानकारी दिए ।
साझा बिसौनी ।