छोरीको हत्या गर्ने आमालाई जन्मकैद

साझा बिसौनी संवाददाता
दैलेख, १२ फागुन ।
छोरीलाई विष खुवाएर हत्या गर्ने एक महिलालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । आफ्नै छोरीलाई विष खुवाउने महिलालाई जिल्ला अदालत दैलेखको २० वर्ष कैदको फैसला सुनाएको हो ।
दैलेखको महाबु गाउँपालिका–४ काँकीकाँधकी २९ वर्षीया शर्मीला बुढाले नौ वर्षीया छोरी भावना बुढाको हत्या गरेको प्रमाणित भएपछि अदालतले जन्मकैदको फैसला गरेको हो । जिल्ला न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासले आइतवार उनलाई जन्मकैदको सजाय सुनाएको हो ।
गत असार ९ गते शर्मीलाले चाउमिनमा विष हालेर बिहानको खाजा खुवाएपछि छोरी भावनाको मृत्यु भएको थियो । शर्मीलाले चाउमनिमा विष राखेर छोराछोरीलाई खुवाएकी थिइन् । उक्त चाउमिन खाएपछि छोरीको मृत्यु भएको थियो भने छोरा उपचारपछि सकुशल छन् ।
मुलुकी ऐनको ज्यान सम्बन्धी महल १३ (२) अनुसार अदालतले मुद्दाको फैसला गरेको जिल्ला अदालत दैलेखका प्रवक्ता विनोद आचार्यले बताए । विष खुवाएर कर्तव्य ज्यान तथा ज्यान मारेको उद्योगमा शर्मीलाको विरुद्धमा अदालतमा मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मितिः   १३ फाल्गुन २०७५, सोमबार १६:३४