सुर्खेत र रुकुम फाइनलमा

साझा बिसौनी संवाददाता
सुर्खेत, १२ फागुन ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजित प्रदेशस्तरीय छनौट अन्तर्गत क्रिकेटको फाइनलमा सुर्खेत र रुकुम पश्चिम भिड्ने भएका छन् । आइतवार भएको लिग चरणको अन्तिम खेलमा सुर्खेतले सल्यानलाई र रुकुमले दैलेखलाई पराजित गर्दै फाइनल पुगेका हुन् ।
स्थानीय कालुञ्चौक मैदानमा भएको खेलमा सुर्खेतले सल्यानलाई ५० रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुर्खेतले २० ओभरमा चार विकेट गुमाएर एक सय ५२ रन जोड्न सफल भयो । सुर्खेतका भविन शारुमगरले सर्वाधिक ४३ रन बनाउँदा कप्तान रविन्द्रजंग शाहीले ३३ रनको योगफल तयार पारे । जवाफी ब्याटिङमा उत्रिएको सल्यानले १७ दशमलब १ ओभरमा सबै विकेट गुमाएर एक सय दुई रनमा समेटियो । सल्यानका आशिक सिंहले २९ रन र दिनेश अधिकारीले १० रन जोडे ।
यस्तै आइतवार नै भएको अर्को खेलमा रुकुम पश्चिमले दैलेखलाई नौ विकेटले हराउँदै फाइनल पुगेको हो । पहिले ब्याटिङ गरेको दैलेखले निर्धारित २० ओभरमा नौ विकेटको गुमाएर ९३ रन मात्र बनाउन सफल भयो । ९४ रनको सामान्य लक्ष्य पाएको रुकुमले १० ओभरमा एक विकेटको क्षतिमा भेटाउँदै जीत हात पारेको हो । सोमवार सुर्खेत र रुकुमबीच फाइनल खेल हुनेछ भने तेस्रो स्थानका सल्यान र दैलेख भिड्नेछन् ।
त्यसैगरी फुटबलतर्फको महिलामा जुम्ला विजयी भएको छ । मंगलगढी स्कुलको खेलमैदानमा भएको खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्रइबेकरमा सुर्खेतलाई ७–६ गोल अन्तरले हराउँदै जुम्लाले जीत हात पार्न सफल भएको हो । यसैगरी पुरुष फुटबलतर्फ भएको खेलमा कालिकोट र सुर्खेतले विजयी सुरुवात गरेका छन् । कालिकोटले सल्यानलाई ३–२ गोल अन्तरमा हराएको हो भने सुर्खेतले जुम्लालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

प्रकाशित मितिः   १३ फाल्गुन २०७५, सोमबार १६:३२