सियाको स्वर्णीम बालापन

सिया कार्की प्रधान सुर्खेत महिला जेसीज वर्ष २०१९ को अध्यक्ष हुन् । उनी समाजसेवा सँगसँगै व्यवसायमा पनि सक्रिय छिन् । वि.सं. २०४१ साल फागुन ९ गते बुबा दिपेन्द्र कार्की र आमा कर्मा कार्कीको सन्तानका रूपमा मनाङको सदरमुकाम चामेमा जन्मिएकी उनी हाल सुर्खेतमा रहँदै आएकी छिन् । सुर्खेत उद्योग वाणिज्य संघको सदस्यसमेत रहेकी प्रधानले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी गरिन्ः


मेरो जन्म मनाङमा भएको हो । बुबा नेपाल प्रहरी हुनुहुन्थ्यो । उहाँको सरुवा भइरहन्थ्यो । मेरो घर स्याङ्जा हो । अहिले बुबा–आमा बुटवलको भैरवा बस्नुहुन्छ । पछि बुबाले बुटवल नै घर बनाउनु भएको हो । मामाको घर भने मनाङमा हो । मनाङमा जन्मिए पनि बुबा सरुवा भइरहने हुँदा कहिले कहाँ कहिले कहाँ जानुपर्ने हुन्थ्यो । मेरो एक जना दाइ र दुई जना भाइ हुनुहुन्छ । म एक्लो छोरी । म हजुरबुबाआमाको जेठो नातिनी, त्यही भएर मलाई हजुरबुबाआमाले धेरै माया गर्नुहुन्थ्यो ।
मनाङमा हुँदा मैले कक्षा तीनसम्म पढें । मनाङको लोकप्रिय माध्यमिक विद्यालयमा पढेको हुँ । पहिला विद्यालयमा लिटो बाढ्थे । त्यहाँ बाल मन्दिर थियो । लिटो खाने समयमा जान्थ्यौं ।
बुबाको काठमाडौं सरुवा भएपछि काठमाडौं गएर फेरि नर्सरीदेखि पढें । अंग्रेजी राम्रो हुन्छ भनेपछि मैले तीन वर्ष ब्याक गरेर पढें । त्यहाँको बागमती बोर्डिङ्ग स्कुलमा कक्षा तीनसम्म पढें । त्यसपछि बुबाको सरुवा बुटवलको भैरहवा भयो । मैले केही समयसम्म काठमाडौंमा काकाहरुसँगै बसेर पढें । काका गाउँ फर्किने भनेपछि म बुबाआमासँग भैरहवा पुगें । माओवादी द्वन्द्वकालमा बुबा प्रहरी भएकाले अलि मानसिक तनाव भयो । प्रहरीको परिवार हो भनेर बाहिर हिँड्न पनि डर लाग्ने हुन्थ्यो । असुरक्षित महसुस हुन्थ्यो ।
भैरहवामा बुद्धज्योति माध्यमिक विद्यालयमा कक्षा १२ सम्म पढें । पछि मैले आफैले पढेको विद्यालयमा तीन वर्षसम्म शिक्षण पनि गरें । स्नातक भने भैरहवा बहुमुखी क्याम्पसबाट गरेको हुँ ।
बाल्यकालमा ज्ञानी स्वभावको थिएँ । बुबाआमाले भनेको मान्थें । बुबा प्रहरी भएकाले पनि अनुुशसानमा धेरै ध्यान दिनुपथ्र्यो । बुबा र आमाले पढाइमा जोड दिनुहुन्थ्यो । उहाँहरु आफै पनि शिक्षित हुनुहुन्थ्यो । आमाले नर्सिङ्ग पढ्नु भएको थियो, त्यसबेलामा । मेरो सपना पनि नर्सिङ्ग पढ्ने थियो । तर पढिनँ । सानैदेखि मेरो समाज सेवाप्रति रुचि थियो । बुबाआमाको प्रेरणाले नै समाजसेवा प्रति रुचि थियो । त्यसैले पनि नर्सिङ्ग पढ्छु भन्ने सोचेको थिएँ ।
मेरो पढाइ राम्रो थियो । विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियाकलापाहरु पनि प्रायः सहभागी हुन्थें । मेरो रुचि नृत्यमा थियो । नाँच्न, रमाउन धेरै मन पथ्र्यो । अहिलेको जसरी पहिले विद्यालयमा अतिरिक्त क्रियाकलाप हुँदैनथ्यो । केही मात्रामा भएका कार्यक्रममा साथीहरुबीच प्रतिष्पर्धा गरेर नै भाग लिन पाइन्थ्यो । म साथीहरुलाई जितेर पनि भाग लिने अवसर पाउँथे । खेलकुदमा पनि रुचि थियोे । सानोमा म स्वस्थ अनि मोटो थिएँ । सबै खेलहरु खेल्न सक्दिनथें । टेलब टेनिस, म्युजिकल चिएर लगायतका खेलहरु खेल्थें । नाटकमा पनि खेल्थें । विद्यालयका हुने कार्यक्रमको उद्घोषण गर्ने जिम्मेवारी मलाई शिक्षकहरुले दिनुहुन्थ्यो ।
मनाङमा हुँदा हिउँ जमेको हुन्थ्यो । त्यहाँ खोला नै जमेका हुन्थे । ती दृश्य रमाइला थिए । हामीले पानीमा चिनी हालेर राख्ने गथ्र्यौं । बरफ जमेको हुन्थ्यो । खान मिठो हुन्थ्यो । विशेष गरेर चाडपर्वमा रमाइलो लाग्थ्यो । नयाँ लगाउन पाउने, मिठो खान पाउने हुन्थ्यो । अहिलेको जस्तो धेरै कपडा हुँदैनथे । वर्षमा दुई÷तीन पटक मात्र कपडा किन्ने चलन हुन्थ्यो । एक पटक चाडपर्व, अर्को जन्मदिनमा । नयाँ कपडा लगाउन पाउँदा धेरै खुशी लाग्थ्यो । चाडपर्वको समयमा घरमा धेरै पाउना आउँदा रमाइलो लाग्थ्यो । आउँदा केही न केही लिएर आइदिनुहुन्थ्यो । अनि जाँदा पैसा दिएर जानुहुन्थ्यो । त्यही भएर पनि चाडपर्व रमाइलो लाग्थ्यो ।
वर्षमा एकदुुई पटक स्याङ्जा जान्थ्यौं । जाडो बिदामा र दसैं तिहारमा, कहिलेकाँही वर्षात्को समयमा । त्यसबेलामा गाउँमा काम पनि गथ्र्यौं। गाउँमा धान रोप्ने, घाँस दाउरा गर्ने, पानी लिन जाने गर्नुपथ्र्यो । खोलामा गएर पौडी खेलेको पनि सम्झना छ । मलाई सानो छँदा साथी बनाउन मन पथ्र्यो । साथीहरुसँग मेरो सम्बन्ध राम्रो नै हुुन्थ्यो । सबैसँग मिल्ने गर्थें ।
फिल्म हेर्न जाने, बाहिर घुम्न जाने गथ्र्यौं । बुबा अलि कडा हुनुन्थ्यो । बाहिर धेरै जानुहुँदैन भन्नुहुन्थ्यो । तर आमाले भने जान दिनुहुन्थ्यो, समयमा घर आउने शर्तमा । प्रायः हामी साथीहरु मिलेर एक अर्कोको घरमा घुम्न जानका लागि फकाउन जान्थ्यौं । मेरो साथीहरु मेरो घरमा आएर घुम्न जान दिनु सियालाई भनेर भन्थे । म पनि उनीहरुको घरमा गएर त्यसै गरी भन्थें । पहिला थोरै पैसाको महत्व धेरै नै हुुन्थ्यो । अझ केटाकेटी हुँदा । म काठमाडौं पढ्ने बेलामा विद्यालयमा दिउँसो खाजा खानका लागि काकाले दुई रुपैयाँ दिनुहुन्थ्यो । त्यसले नै खाजा खान पुग्थ्यो ।
बाल्यकाल स्वर्णीम र स्मर्णीय हुन्छ । ठूलो भइसकेपछिको जस्तो जिम्मेवारी हुँदैन । तनाव हुँदैन । बाल्यकालमा दिनहरु सबै भन्दा प्यारो लाग्छ । बाल्यकालको समय ताजानै छ ।
‘कहाँ आउँछ र घुमेर, बालापनको उमेर’ बाल्यकालको कुरा गर्न बित्तिकै यो गीत सान्र्दभिक लाग्छ । बाल्यकाल रमाइलो नै हुन्छ । जति अभाव, सुविधा भए पनि र नभए पनि । साथीहरुसँग खेलेको रमाएको सम्झना अझै पनि ताजा नै छ ।

प्रकाशित मितिः   १३ फाल्गुन २०७५, सोमबार १६:३२