एक लाख नागरिकद्वारा स्वास्थ्य बीमा
साझा बिसौनी संवाददाता
सुर्खेत, १७ फागुन ।
कर्णालीका एक लाखभन्दा बढी नागरिक स्वास्थ्य बीमा गराएका छन् । सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशको पाँच जिल्लाका एक लाख ३९ हजार पाँच सय २० जनाले स्वास्थ्य बीमा गरेको पाइएको छ ।
कर्णालीमा आर्थिक वर्ष २०७४ असार १ गते जुम्लाबाट स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरिएको थियो । पहिलो चरणमा कर्णालीका जुम्ला, जाजरकोट, सुर्खेत, रुकुम पश्चिम र कालिकोटमा यो कार्यक्रम लागू गरिएको छ । कार्यक्रम लागू भएदेखि हालसम्म एक लाख बढीले बीमा गरेको र ३५ हजार पाँच सय १९ जनाले सेवा लिएको स्वास्थ्य बीमा बोर्ड कर्णालीका संयोजक अर्जुन पण्डितले जानकारी दिए । बिमित गरेका नागरिकहरूलाई सेवा दिए वापत सेवाप्रदायकलाई चार करोड ४० लाख ५६ हजार सात सय ३८ रूपैयाँ भुक्तानी गरेको पण्डितले उल्लेख गरे । पाँच जिल्लाका विभिन्न स्थानका २० स्वास्थ्य संस्थाहरूले स्वास्थ्य बीमा गरेका नागरिकहरूलाई सेवा प्रदान गर्दै आएका छन् ।
झण्डै एक लाख बिमित नागरिकबाट चार करोड ७८ लाख ६६ हजार तीन सय २० रूपैयाँ संकलित योगदान रकम रहेको पण्डितको भनाइ छ । उनका अनुसार बिमित भएका मध्य अति गरिबी परिवार संख्या २५ हजार पाँच सय ५४ जना छन् । अति गरीब बिमितको रकम सरकारले तिर्न भने तीन करोड २३ लाख २७ हजार दुई सय ३५ रूपैयाँ रहेको पण्डितको भनाइ छ ।
यसैबीच स्वास्थ्य बीमा कार्यक्रमलाई कर्णालीका थप जिल्लामा पनि लागू गर्ने तयारी गरिएको छ । ‘चालु आर्थिक वर्षमै हुम्ला, डोल्पा, मुगु र दैलेखमा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारीमा छौं’ पण्डितले भने ।
यसैबीच प्रदेश र स्थानीय सरकारलाई जिम्मेवार बनाउन स्वास्थ्य बीमा कार्यक्रमबारे शुक्रवार जानकारी गराइएको छ । कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार गम्भीर भएर लाग्ने बताए । स्वास्थ्य बीमाको प्रचार–प्रसारको अभावले कयौं नागरिक स्वास्थ्य बीमा कार्यक्रमबारे बेखबर रहेको कर्णाली प्रदेश सभाका सांसद यज्ञबहादुर बिसीले बताए ।
प्रदेशसभाका अर्का सांसद पद्मा खड्काले भने स्वास्थ्य बीमा गरेका नागरिकहरूले स्वास्थ्य संस्थाबाट सहज रूपमा सेवा पाउन नसकेको बताइन् । प्रदेश सभाका सांसदहरूसँगको अन्तरक्रियामा कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही, उप–सभामुख पुष्पा घर्ती विष्ट, प्रतिपक्ष दलका नेता जीवनबहादुर शाही, राष्ट्रिय बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेल लगायतको सहभागिता थियो ।
साझा बिसौनी ।