वृद्धाश्रमलाई सहयोग

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ फागुन ।
वीरेन्द्रनगरस्थित जन नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले प्रशान्ति वृद्धाश्रमलाई सहयोग गरेका छन् । विद्यालयमा रहेको युवा रेडक्रस सर्कलको अगुवाइमा विद्यार्थीले शुक्रवार वृद्धाश्रममै पुगेर मुठ्ठी दानबाट संकलित सामग्रीसँगै नगद दान गरेका हुन् । विद्यार्थीको पनि सामाजिक उत्तरदायित्व हुन्छ भन्ने भावनाले प्रेरित भएर मुठ्ठीदानबाट संकलिन गरिएको हो ।
विद्यार्थीहरूले संकलन भएको दुई क्विन्टल चामल, २० किलो आलु, १५ किलो दाल, तीन लिटर तेलसँगै नगद सात हजार रूपैयाँ वृद्धवृद्धालाई प्रदान गरिएको छ । युवा रेडक्रस सर्कलका कार्यबाहक अध्यक्ष शंकर आचार्यले अध्ययनसँगै सामाजिक गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाउन सर्कलमार्फत् रचनात्मक तथा सिर्जनात्मक क्रियाकलाप गरिएको बताए ।
युवा रेडक्रस सर्कलकै सदस्य विश्लेषा खनालले मानव सामाजिक प्राणी भएकाले समाजसँगको जीवन्त सम्पर्क विना जीवन अधुरो भएको बताइन् । उनले हरेक नागरिकले समाज रूपान्तरणका लागि यथासक्य सामाजिक गतिविधिमा सहभागिता जनाइनुपर्नेमा जोड दिइन् ।
विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले प्रशान्ति वृद्धाश्रमको जन नमुना मावि आजीवन सदस्य रहेकाले विद्यालयमा अध्ययनरत विद्यार्थीद्वारा समय–समयमा विभिन्न सहयोग गरिरहेको बताए । विद्यालयका १ देखि १२ कक्षामा अध्ययनरत विद्यार्थीले मुठ्ठीदान कार्यक्रममा सहभागिता जनाएका थिए ।

प्रकाशित मितिः   १८ फाल्गुन २०७५, शनिबार १६:२७