गुणस्तरीय शिक्षामा जोड

साझा बिसौनी संवाददाता
सुर्खेत, १० फागुन ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सामुदायिक तथा संस्थागत विद्यालयहरूले प्राविधिक शिक्षा प्रदानमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् । शुक्रवार वीरेन्द्रनगरमा साउथ एसियन स्कालर्स एकेडेमीको १६ औं तथा ज्ञानसिन्धु सुर्खेत कलेजको छैठौं वार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री रावलले यस्तो बताएका हुन् ।
उनले बेरोजगार उत्पादन गर्ने कारखाना बनेका विद्यालय र विश्वविद्यालयलाई परिमार्जन गरी प्राविधिक र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । निजी विद्यालयहरुले शैक्षिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै अब सबै मिलेर गरिबी र बेरोजगारको अवस्था अन्त्य गर्नसक्ने शिक्षा बालबालिकालाई दिनतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे । उनले साउथ एसियन र ज्ञानसिन्धु कलेजलाई पनि प्राविधिक र गुणस्तरीय शिक्षा प्रदानमा जोड दिन सुझाव दिए ।
वार्षिकोत्सवमा विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका निर्देशक गणेश अधिकारीले शैक्षिक तथा भौतिक विकासमा विद्यालयले हरेक वर्ष प्रगति गर्दै गइरहेको बताए । उनले शैक्षिक सत्र २०७४÷०७५ मा एक हजार तीन सय ९८ जना विद्यार्थी रहेकोमा यस वर्ष एक हजार सात सय पाँच जना पुगेको जानकारी दिए ।
उनका अनुसार ज्ञानसिन्धु कलेजमा पनि हरेक वर्ष विद्यार्थी संख्या बढ्दै गएको छ । विद्यालय र कलेजको भौतिक पूर्वाधारमा पनि सुधार गरिएको उनले बताए । यसैगरी सामाजिक कार्यतर्फ मुठ्ठीदान कार्यक्रम, आगलागीपीडितलाई राहत, बाढीपीडितलाई शैक्षिक सामग्री, स्वास्थ्य शिविर सञ्चालनमा सहकार्य लगायतका काम विद्यालय र कलेजले गर्दै आएको छ । अधिकारीले नैतिक तथा व्यवहारिक शिक्षालाई प्राथमिकता दिएर गुणस्तर शिक्षा प्रदान गर्ने योजना रहेको समेत बताए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का अध्यक्ष भुपेन्द्र खत्री, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ सुर्खेतका अध्यक्ष सागर भुषाल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष नवराज गुरुङ्ग, केन्द्रीय सदस्य सीताराम पौडेल, पत्रकार सुशील शर्मा लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरी सोही अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने विद्यार्थीहरूले विविध प्रस्तुतीहरू पनि राखेका थिए । कार्यक्रम विद्यालयका कार्यकारी प्रमुख छत्र बडुवालको सभापतित्वमा भएको हो ।

प्रकाशित मितिः   ११ फाल्गुन २०७५, शनिबार १७:४५