प्रदेशले माग्यो डेढ सय स्वयम्सेवक
साझा बिसौनी संवाददाता
सुर्खेत, १० फागुन ।
कर्णाली प्रदेश सरकारले स्वयम्सेवक छनौटको प्रक्रिया सुरु गरेको छ । पहिलो चरणमा करिब डेढ सय जना स्वयम्सेवकका लागि आवेदन आव्हान गरेको छ ।
सामाजिक विकास मन्त्रालयले मेडिकल अफिसर, हेल्थ असिस्टेन, स्टाफ नर्स, अहेब, अनमी, रेडियो ग्राफी, ल्याब असिस्टेन, सिभिल सव–इन्जिनियर, कृषि तथा भेटेरेनरी जेटीए, असिस्टेन सव–ईन्जिनियर, मेडिकल अफिसर लगायतका पदमा स्वयम्सेवक आव्हान गरेको हो । मन्त्रालयले शुक्रवार सूचना जारी गर्दै अनलाइनमार्फत् स्वयम्सेवकका लागि आवेदन आव्हान गरेकोे छ ।
सूचना अनुसार प्राविधिकतर्फका एक सय ३९ जना स्वयम्सेवकलाई पहिलो चरणमा परिचालन गर्न लागिएको छ । डोल्पामा २० जना, मुगुमा १७ जना, हुम्लामा १८ जना, जुम्लामा ११ जना, कालिकोटमा १९ जना, जजारकोटमा १५ जना, रुकुमपश्चिममा १२ जना, दैलेखमा १३, सल्यानमा ८ र सुर्खेतका लागि ६ जना स्वयम्सेवक परिचालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार डोल्पामा २८ जना, मुगुमा २८, हुम्लामा २८, जुम्लामा २४, कालिकोटमा २४, जाजरकोटमा २३, रुकुमपश्चिम र दैलेखमा २१÷२१ जना, सल्यानमा १५ र सुर्खेतमा १५ जना दरबन्दी स्वीकृत भएको थियो । प्राविधिक र अप्राविधिकतर्फ स्वयम्सेवक परिचालन गर्ने योजना बनाएको मन्त्रालयले पहिलो चरणमा प्राविधिकतर्फ स्वयम्सेवक माग गरेको हो ।
स्वयम्सेवक परिचालन कार्यविधि–२०७५ अनुसार प्रदेश अन्तर्गत १० वटै जिल्लाबाट आवेदन माग गरिएको हो । विषयगत क्षेत्रमा स्वयम्सेवक भइ काम गर्नका लागि स्वयम् सेवा गर्न इच्छुक नागरिकले अनलाइनबाट फर्म भर्ने व्यवस्था मन्त्रालयले मिलाएको छ । मन्त्रालयले सबै पदका लागि १८ वर्ष पूरा गरी ४० वर्ष ननाघेका उमेर समूहका नागरिकले आवेदन दिनसक्ने छन् । मेडिकल अफिसरका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस वा सो सरह मेडिकल काउन्सिलको दर्ता प्रमाण–पत्र प्राप्त व्यक्ति हुनुपर्नेछ । यस्तै, हेल्थ असिस्टेण्टका लागि चिकित्सा विषयमा प्रविणता प्रमाण–पत्र तह उत्तीर्ण गरी सम्बन्धित परिषद्को दर्ता प्रमाण–पत्र, अहेबका लागि सम्बन्धित विषयमा टीएसएलसी वा सो सरह उत्तीर्ण भइ काउन्सिलको दर्ता प्रमाण–पत्र प्राप्त भएको हुनुपर्नेछ ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ्ग विषयमा प्रविणता तह वा सो सरह उत्तीर्ण गरी काउन्सिलको दर्ता प्रमाण–पत्र प्राप्त व्यक्तिले स्टार्फ नर्सको कोटामा स्वयम्सेवकको लागि आवेदन दिन सक्नेछन् । यस्तै, अनमीका लागि टीएसएलसी तथा सो सरह उत्तीर्ण व्यक्ति, सम्बन्धित विषयमा प्रविणता प्रमाण–पत्र तह उत्तीर्ण गरेको व्यक्तिले रेडियो ग्राफर पदका लागि आवेदन दिन सक्नेछन् । ल्याब असिस्टेन्टका लागि सम्बन्धित विषयमा टीएसएलसी, सिविल इन्जिनियर अध्ययन गरेका व्यक्तिले सिभिल इन्जिनियरिङ्ग पदका लागि आवेदन दिन सक्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै, अप्राविधिकमा प्रशिक्षक सहायकका लागि शिक्षा शास्त्र संकायबाट स्नातक तह उत्तीर्ण गरेको व्यक्तिले आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । जुम्ला र रुकुम पश्चिमका लागि मात्रै प्रशिक्षक सहायक पदका लागि मन्त्रालयले स्वयम्सेवकको आवेदन खोलेको छ । सिभिल इन्जिनियर र सिभिल सव–इन्जिनियर पदका लागि पनि सरकारले सम्बन्धित विषयमा अध्ययन गरेको व्यक्तिलाई आवेदन दिन आव्हान गरेको छ । असिस्टेण्ट सव–इन्जिनियरका लागि टिएसएलसी उत्तीर्ण भएको व्यक्तिले पनि आवेदन दिन सक्नेछन् ।
भूगर्व विद्का लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । कृषि र भेटेनरी जेटीएका लागि सो सरह उत्तीर्ण गरेको व्यक्तिबाट स्वयम्सेवाका लागि आवेदन दिन सक्नेछन् ।
स्वयम्सेवकलाई सरकारले मासिक रूपमा जीवन निर्वाह भत्ता दिनेछ । वर्गीकरण गरिएको जिल्ला अनुसार नै भत्ता वितरण गरिनेछ । स्वयम्सेवकको योग्यता र विकटताका आधारमा सरकारले जीवन निर्वाह भत्ता निर्धारण गरेको छ । स्नात्तकोत्तर उत्तीर्ण भएको प्राविधिक र अप्राविधितर्फको स्वयम्सेवकले १९ हजार आठ सयदेखि २२ हजार दुई सयसम्म भत्ता पाउनेछन् ।
यस्तै, स्नातक तह उत्तीर्ण गरेका प्राविधिक स्वयम्सेवकले १९ हजार दुई सयदेखि २१ हजार ६ सयसम्म भत्ता पाउने व्यवस्था कार्यविधिले गरेको छ । अप्राविधिक स्वयम्सेवकले १८ हजारदेखि २० हजार चार सयसम्म भत्ता पाउनेछन् । उच्च माध्यमिक तह वा सो सरह उत्तीर्ण गरेका प्राविधिकतर्फका स्वयम्सेवकले १५ हजार ६ सयदेखि १८ हजार र अप्राविधिकले १५ हजारदेखि १७ हजार चार सयसम्म भत्ता पाउने कार्यविधिमा उल्लेख छ ।
यस्तै, प्रवेशिका परीक्षा उत्तीर्ण गरेका प्राविधिकहरूका लागि १४ हजार चार सयदेखि १६ हजार आठ सयसम्म भत्ता तोकिएको छ । कार्यविधिमा वर्गीकरण गरिएको जिल्ला अनुसार नै भत्ता निर्धारण गरिएको हो । कुनै सरकारी वा सार्वजनिक निकायबाट विशेष परिस्थितिमा कार्यकारी समितिले सूचीमा रहेका सम्बन्धित विषयका आवेदकमध्येबाट बढीमा तीन महिनासम्मका लागि स्वयम्सेवक नियुक्ति गरी काममा लगाउन सक्ने व्यवस्था कार्यविधिले गरेको छ ।
साझा बिसौनी ।