अब्बल वक्ता बन्ने लक्ष्य

आदर्शबिक्रम सिंह महाबु–४, गीताचौर दैलेखमा जन्मिएका हुन् । वि.सं. २०५६ चैत्र ६ गते बुवा यामबहादुर सिंह र आमा टीकाकुमारी सिंहको कोखबाट जन्मिएका उनी तीन भाइबहिनीमध्ये घरको जेठो छोरा हुन् ।
सानैदेखि पढाइमा अब्बल आदर्शले वि.सं. २०७१ सालमा एसएलसी उत्तीर्ण गरे । एसएलसी पास गरेदेखि नै विभिन्न वक्तृत्वकलाहरूमा भाग लिँदै आएका आदर्शले भविष्यमा अब्बल मोटिभेसनल स्पिकर बन्ने लक्ष्य राखेका छन् । कलेज लाईफको राजनीतिबाट टाढा रहेका आदर्शबिक्रम शाहले उनको कलेज लाईफ हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटेः

‘विद्यालय पढ्दा कहिल्यै दोस्रो भइनँ’
मैले भगवति माध्यमिक विद्यालय काँशीकाँध दैलेखबाट वि.सं. २०७१ सालमा एसएलसी उत्तीर्ण गरेको हुँ । म कक्षा एकदेखि नै प्रथम विद्यार्थी हुँ । कक्षाको मात्रै होइन विद्यालयकै प्रथम विद्यार्थीमा म गनिन्थें । एसएलसी पास भएपछि भने म उच्च शिक्षाको लागि वीरेन्द्रनगर सुर्खेत आइपुगें । यहाँ आएर आदर्शराज मेमोरियल बोर्डिङ्ग स्कुलमा पढें । यहाँ पनि मेरो पढाइ ठीकै छ ।
कलेजको पहिलो दिन
मेरो कलेजको पहिलो दिन एकदमै रमाइलो भयो । म कलेज आउँदा एकजना चिनेको साथी थियो जसले गर्दा मलाई एकदमै सजिलो भयो । कलेजबाट फर्कंदा पनि रमाइलो नै भयो ।
नयाँ ठाउँमा गएर बोल्न डराउने बानी थिएन । त्यसैले पनि सबैसँग छिटै घुलमिल भइयो । कलेजबाहेक घरमा तीन÷चार घण्टा कलेजकै किताबहरु पढ्ने गरेको छु । अन्य समयमा अरु नयाँ कुराहरु अध्ययन गर्ने गरेको छु ।
कलेजको पढाइ र विद्यालयको पढाइमा धेरै फरक छ । विद्यालयमा कक्षा कोठामा पढेकै आाधारमा गृहकार्य गर्ने भन्ने हुन्छ । शिक्षक भनेको अभिभावक जस्तै हुन् अलि डर पनि हुने गर्दछ ।
कलेजमा भने घरमा आएर पनि अलि मेहेनत गर्नुपर्ने र शिक्षकहरुबाट साथीसरह व्यवहार पाइने त्यो राम्रो पक्ष हो । कलेजको नराम्रो पक्ष भनेको राजनीति हो । कलेजमा हुने राजनीतिले गर्दा केही सीमित व्यक्तिहरुलाई त फाइदा होला तर आम विद्यार्थीहरुलाई त्यसले बेफाइदा गर्छ जस्तो मलाई लाग्छ ।
मैले पढाइ बाहेक विभिन्न अनुसन्धान र स्पीचमा नै बिताउने गरेको छु । मलाई साथीभाइहरुसँग घुम्न मन पर्छ । फिल्म हेर्न मन त पर्छ तर हलमा गएर होइन घरमा एक्लै बसेर हेर्न मन पर्छ । मेरो अधिकांश समय अध्ययनमै बित्छ त्यो पनि अनुसन्धानका किताबहरु बढी रुचिमा पर्छन् ।
क्लास बंक कहिल्यै गरिनँ । किनकी मैले आफूभित्र बढी भन्दा बढी स्पीचमा निखारता ल्याउने उद्देश्य बोकेको कारण मलाई पढाइमा र अन्य ज्ञानका कुराहरु सिक्न रुचि लाग्छ । त्यसैले कक्षामा इमान्दार नै हुन्छु ।
अध्ययनबाट विचलित
प्रेम केटा र केटी बीचको सम्बन्ध मात्रै होइन । कुनै पनि चिजप्रतिको मायाको भाव जनाउनु प्रेम हो । त्यो प्रत्येक व्यक्ति अनुसार फरक–फरक हुन्छ । प्रेम सबैलाई गरिन्छ । बुबा–आमा, दाजुभाइ, साथीसंगी, सबैलाई ।
मैले कसैलाई मरिहत्ये गरेको छैन तर केटीप्रति आकर्षण त भइरहन्छ त्यो उमेरको आकर्षण पनि होला । प्रेमलाई सम्मान गर्दछु तर मेरो दिमाग, मेरो लगाब र मेरो बानीले अहिले त्यो प्रमेको माग गरेको छैन ।
मेरो बुबा शिक्षक हुनुहुन्छ र आमा भने राजनीति गर्नुहुन्छ । मेरो घरपरिवारमा बुबा शिक्षक र आमा राजनीतिमा सक्रिय भए पनि मेरो लगाव भने मोटीभेशनल स्पीकरमै छ । म एउटा अब्बल वक्ता बन्न चाहन्छु । त्यसको लागि मैले धेरै संघर्ष गरेको छु । मैले भर्खरै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा भाग लिएर कर्णाली प्रदेश प्रथम भएँ । काठमाडौंमा गएर देशभरकै चौथो भएर आएँ । त्यसैले मलाई अझै हौसला मिलेको छ, यो क्षेत्रमा केही गर्नलाई । त्यसको लागि मैले अध्ययनलाई आधार बनाएको छु ।

प्रकाशित मितिः   ११ फाल्गुन २०७५, शनिबार १७:४४