ठेकेदारको लापरबाही, लाइन विस्तारमा ढिलाइ

साझा बिसौनी संवाददाता
सुर्खेत, ९ फागुन ।
योजना अनुसार काम सम्पन्न भएको भए यतिबेला पश्चिम सुर्खेतका बराहताल र पञ्चपुरीमा बिजुलीको राष्ट्रिय प्रसारण लाइन विस्तार भइसकेको हुने थियो । तर जिम्मेवारी पाएको कम्पनीले ढिलाइ गर्दा विद्युत विस्तार गर्ने योजना अलपत्र परेको छ ।
सदरमुकाम वीरेन्द्रनगरदेखि पश्चिम क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्न सकेको छैन । लघु जलविद्युत आयोजनासमेत सबै गाउँपालिका र नगरपालिकामा छैनन् । राष्ट्रिय प्रसारण लाइन विस्तारमा ढिलाइ हुँदा नागरिकले विद्युत उपयोग गर्न पाएका छैनन् । निर्माण कम्पनीको लापरबाहीका कारण सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने स्थानीय तहहरूमा विद्युत प्रसारण लाइन विस्तार गर्ने कार्य अलपत्र परेको हो ।
विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगन्जले वीरेन्द्रनगर–बावियाचौर विद्युत विस्तारको काम गर्ने जिम्मेवारी त्रिपुरेश्वर जयदुर्गेदेवी निर्माण कम्पनीलाई दिएको थियो । वि.सं. २०७२ जेठ ३२ गते निर्माणको लागि ठेक्का सम्झौता गरेको कम्पनीले समयमा काम गर्न सकेको छैन । सम्झौता अनुसारको समयावधि सकिएपछि प्राधिकरणले एक वर्ष म्याद थप गरेको थियो । त्यो अवधि गुज्रिसक्दासम्म पनि विद्युतको लाइन विस्तारको काम अघि बढ्न सकेको छैन ।
ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले २०७४ पुस ८ गतेभित्र विद्युतको लाइन विस्तारको काम सक्नुपर्ने हो । तर, थप गरेको म्याद २०७५ पुस मसान्तसमेत सकिए पनि विद्युत विस्तारको काम आधा पनि हुन सकेको छैन । ठेकेदार कम्पनीले पोल गाड्ने, लाइन विस्तार गर्ने जिम्मेवारी लिएको छ । चार करोड ६८ लाख ८६ हजार पाँच सय २५ रूपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर सम्झौता अवधि सकिए पनि निर्माण कम्पनीले बेवास्ता गर्दा लाइन विस्तार कार्यले गति लिन नसकेको हो ।
वीरेन्द्रनगरको बुद्बुदीदेखि बाङ्गेसिमल, हुड्के, बड्डिचौर, विद्यापुर, गुटु, बिजौरासम्म ३३ केभीए विद्युत प्रसारण लाइन विस्तार हुनुपर्ने हो । विद्युतको लाइन विस्तारका लागि सबै सामग्री आइसकेको छ । तर, लाइन वन क्षेत्रमा परेकाले काम गर्न अप्ठ्यारो परेको निर्माण कम्पनीले जनाएको छ । ‘वनबाट आवश्यक अनुमति मागेर काम अगाडि बढाउने तयारीमा छौं’ निर्माण कम्पनीका व्यवस्थापक सागर लुइँटेलले भने, ‘अनुमति विना जंगल क्षेत्रमा विद्युतको लाइन विस्तार त परै हो, प्रवेश गर्न समेत पाइदो रैन’छ ।’ उनले अनाधिकृत र गैरकानुनी रूपमा काम गर्न नचाहेकाले विद्युतको लाइन विस्तारको काम रोकिएको बताए । ‘नौ सय पोल वनको अनुमति नलिएर नै गाडियो, तर जति काम भएको छ त्यो पनि बलमिच्याइँले गरिएको छ’ उनले भने, ‘नियम संगत नै जान खोज्दा केही ढिलो हुन गएको छ । अब केही दिनमा काम सुरु हुन्छ ।’ उनका अनुसार वन मन्त्रालयसँग आवश्यक अनुमति माग गरिएको छ । मन्त्रालयबाट काम अन्तिम चरणमा पुगेको जानकारी पाएको उनले बताए ।
राष्ट्रिय प्रसारण लाइन विस्तार नहुँदा केही ठाउँमा भने लघु जलविद्युत आयोजना निर्माण गरिएको छ । तर त्यो पर्याप्त छैन । पञ्चपुरी नगरपालिका–५ बावियाचौरमा ग्रामीण जलविद्युत आयोजना निर्माण भएको पाँच वर्ष भयो । जलविद्युत आयोजना निर्माण भएसँगै लाइन त छ तर, विद्युत नियमित आउँदैन ।
२४ किलोवाटको उक्त जलविद्युत आयोजनाले माग अनुसारको बिजुली उपलब्ध गराउन त सकेको छैन नै सामान्य हावाहुरी लाग्दा हप्तौं बिजुलीविहीन हुनुपर्ने अवस्था छ ।
पञ्चपुरीमै ५१ र १५ किलोवाटका राम्दी लघु जलविद्युत आयोजना छन् । यस्तै आठ किलोवाटको काँडाखेत जलविद्युत आयोजना पनि सञ्चालनमा छ । तर, नियमित र पर्याप्त विद्युत उत्पादन हुन सकेको छैन । बावियाचौरको लघु जलविद्युत आयोजना जस्तै उल्लेखित आयोजनाहरू पनि वर्षात्मा पानी पर्दा र हिउँदमा हावालाग्दा लामो समय अवरुद्ध हुने गरेका छन् ।
बिजुली नहुँदा नगरपालिकाको कामसमेत प्रभावित हुन्छ । ‘भनेको र आवश्यक परेको समयमा बत्ती नै हुँदैन, ठूला मेशिन सञ्चालन आउँदैनन्’ पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले भने, ‘नगरपालिकाका धेरै वडा अन्धकार नै छन् ।’ गर्मी मौसममा खोलामा पानी कम हुने भएकाले बत्ती कम भोल्टेजमा आउँछ । जसले गर्दा सामान्य काम बाहेक ठूलो काम गर्न असहज हुने गरेको प्रमुख थापाले बताए । ‘पश्चिममा विद्युत नहुँदा विकासमा निकै पछाडि प¥यो, नगरपालिकाले पनि केही ठाउँमा लघुजलविद्युत विस्तार गर्दैछ तर त्यो पर्याप्त होइन’ उनले भने, ‘कहिले पश्चिम क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्ला र जनताले अन्धकारबाट उन्मुक्ति पाइने होला ?’

प्रकाशित मितिः   १० फाल्गुन २०७५, शुक्रबार १७:४१