दैलेखमा अल्लो प्रशोधन हुने

साझा बिसौनी संवाददाता
दैलेख, ७ फागुन ।
दैलेखमा आधुनिक मेशिनमार्फत् अल्लो प्रशोधन गरिने भएको छ । परम्परागत रूपमा अल्लो काट्ने सुकाउने, गरिँदै आएकोमा अब भने जिल्लाको नौमूलेमा आधुनिक उपकरणको प्रयोग गरिने भएको छ ।
परम्परागत रूपमा अल्लोको संकलन तथा प्रशोधनको काम हुँदै आएकोमा अब अल्लो प्रशोधन मेशिन स्थापनाको तयारी गरिएको छ । स्थानीय उद्यमी परे खड्काले नौमूलेमा स्थानीय सरकारको लगानीमा अल्लो प्रशोधन गर्ने मेशिन ल्याएका छन् । आधुनिक मेशिनले रेसा, धागो, भुवा, छुट्टाछुट्टै निकाल्ने भएकाले स्थानीयस्तरको कच्चा पदार्थबाट उद्यमीले बढी आम्दानी लिन सकिने खड्काले बताए । उनका अनुसार एक महिनाभित्र मेशिन सञ्चालनमा आउनेछ ।
जिलामा अल्लो व्यवसाय गर्ने साना उद्यमीको संख्या करिब चार सय ५० रहेको छ । यी मध्ये करिब तीन सय उद्यमी नौमूले गाउँपालिकामा रहेको बताइएको छ । उच्च भू–भाग गरिबी धेरै भएका कारण यहाँका बासिन्दा जंगलमा खेर गएको अल्लो घरमा ल्याउने, परम्परागत शैलीमा प्रशोधन गर्ने र सस्तो मूल्यमा अल्लोको धागो बिक्री गर्ने बाध्यतामा छन् । स्थानीय सरकार र राज्यले अल्लो प्रशोधनका लागि अहिलेसम्म लगानी गर्न नसकेको स्थानीय उद्यमीले गुनासो गरेका छन् । १५ वर्षदेखि अल्लो काट्ने, चुट्ने, सुकाउने अनि अल्लोको धागो निर्माण गर्दै आएकी नौमूलेकी ६५ वर्षीया बमकला योगी यसको आम्दानीले दुई छाक हातमुख जोर्न धौ–धौ भएको बताउँछिन् । जंगलमा गाइभैंसी चराउन जाँदासमेत बमकला जस्ता अधिकांश महिला र पुरुषले अल्लोको धागो बुन्ने काम गर्दछन् ।
स्थानीय हरिमाया मगरले अल्लोको धागो निर्माण गरेर महिनामा चार हजारसम्म कमाउने गरेको बताउँछिन् । ५५ वर्षीया हरिमाया गाउँघरमा गर्ने अन्य काम नभएकाले यसैलाई दुई÷चार पैसा आम्दानीको बाटो बनाएको भयो । धागो बनाउने मेशिन भएका परिवारले घरमै धागो काट्न थालेपछि अहिले अल्लो धेरैजनाको आम्दानीको स्रोत बनेको छ । अल्लो प्रशस्त हुने नौमूले गाउँपालिकाका यस्ता ठाउँमा यसको सदुपयोग निकै
कम मात्रामा हुने गरेको छ । गरिबी छेक्नलाई मात्र अहिले अल्लो धागो बुन्ने गरिएको बमकलाले बताइन् । आधुनिक प्रशोधन भए गाउँमै राम्रो आम्दानी हुने योगीको भनाइ छ ।
गरिबी धेरै भएका दुर्गम बस्तीका बासिन्दाको लागि धागो बिक्री गरेर थोरै भए पनि आम्दानी हुने र नुन तेल खरिद गर्नुपर्ने बाध्यता अहिले पनि कायमै छ । अल्लोको धागो प्रतिकेजी पाँच सयमा घरबाटै बिक्री हुने गर्दछ । अल्लोबाट, पाखी, कोट लगायतका विभिन्न सामग्री निर्माण हुने र महँगोमा बिक्री हुने गर्दछ । दैलेखका द्वारी, कालिका, बालुवाटार, भवानी, तोली लगायतका जंगलमा हरेक वर्ष उम्रने अनि प्रयोगमा नआएर जंगलमै अल्लो सड्ने गर्दछ । प्राकृतिक स्रोतको रूपमा स्थानीयस्तरमा उपलब्ध अल्लो प्रशोधन कार्यलाई राज्यले व्यवसायिक रूपमा विकास गर्नसके बाहिरबाट लत्ताकपडा किन्न नपर्ने र गाउँमै रोजगारीको अवसर सिर्जना हुने जिल्ला लघुउद्यमी संघका अध्यक्ष एवम् दैलेख उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कविराज खत्रीले बताउँछन् ।

प्रकाशित मितिः   ८ फाल्गुन २०७५, बुधबार १७:३३