हिमपातले विमानस्थल अवरुद्ध
साझा बिसौनी संवाददाता
डोल्पा, ७ फागुन ।
हिमाली जिल्ला डोल्पामा पुनः हिमपात भएको छ । यो यस वर्षको छैठौं पटकको हिमपात हो ।
हिमपातका कारण जिल्लाका त्रिपुराकोट, छल, पहाडा, करेलीकाँडा, सुँ, जुफाल, दुनैलगायतका स्थानहरू हिउँले सेताम्य भएका छन् । रातभरीको भारी वर्षातपछि बिहानीपख लगातार दुई घण्टासम्म भएको हिमपातका कारण डोल्पालीको जनजीवन कष्टकर बन्नुका साथै डोल्पाको जुफाल विमानस्थल अवरुद्ध भएको छ । मंगलवार बिहानैदेखि सुरु भएको भारी हिमपातका कारण धावनमार्गमा बाग्लो हिउँ जमेपछि जुफाल विमानस्थल अवरुद्ध भएको हो ।
विमानस्थल अवरुद्ध भएपछि नेपालगन्जदेखि कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार सिंहले बताए । डोल्पाली जनताका लागि जिल्ला बाहिर आवत–जावत गर्ने एकमात्र भरपर्दो यातायातको साधनको रूपमा रहेको हवाई सेवा अवरुद्ध भएपछि जिल्ला बाहिर आवत–जावत गर्न समस्या भएको छ ।
साझा बिसौनी ।