रनिङ्गशील्डको उपाधि रुकुम र कालिकोटलाई

साझा बिसौनी संवाददाता
सुर्खेत, ५ फागुन ।
मुख्यमन्त्री रनिङ्गशील्ड भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिम र कालिकोटले जितेका छन् । पुरुषतर्फ रुकुम पश्चिम र महिलातर्फको कालिकोटले हात पारेका हुन् ।
आइतवार भएको फाइनलमा रुकुम पश्चिमले पुरुषतर्फ सल्यानलाई ३–० को सोझो सेटमा हराउँदै एक लाख रूपैयाँ नगद पुरस्कारसहित उपाधि आफ्नो पोल्टामा पारेको छ । रुकुमले सल्यानसँग समूह चरणमा भोगेको हारको बदला लिँदै उपाधि हात पारेको हो ।
पहिलो खेलमा सल्यानलाई रुकुमले २८–२६, २५–१९ र २५–२३ को अन्तरमा पराजित गर्दै पहिलो पटको मुख्यमन्त्रीकपको उपाधि उचालेको हो । उप–विजेता बनेको सल्यानले ७५ हजारमा चित्त बुझाएको छ भने घरेलु टोली सुर्खेत ५० हजार पाउँदै तेस्रो बनेको छ ।
समूह चरणको खेलबाट लगातार जीत हातपार्दै शीर्षस्थानमा रहँदै आएको सल्यान फाइनलमा हार भोग्न बाध्य भएको हो । सुरुका खेलमा राम्रो प्रदर्शन गरेको सल्यान अन्तिम समयमा आफूलाई सम्हाल्न नसक्दा उपाधिबाट वञ्चित भएको हो ।
यस्तै महिलातर्फ कालिकोटले रुकुम पश्चिमलाई ३–० कै सोझो सेटमा हराउँदै उपाधिसँगै एकलाख रूपैयाँ हात पारेको छ । उप–विजेता रुकुमले ७५ र तेस्रो भएको दैलेखले ५० हजार रूपैयाँ हात पारेका छन् । आयोजकले सामाजिक विकास मन्त्रालयले प्रतियोगितामा करिब ५५ लाख रूपैयाँ खर्च भएको जनाएको छ । यस्तै प्रतियोगितामा रुकुमका डायमण खड्का र महिलातर्फ कालिकोटका पवित्रा शाही उत्कृष्ट खेलाडी बनेका छन् । उनीहरूले समान तीन हजार सात सय रूपैयाँ पुरस्कार हात पारेका छन् ।
यसैबीच खेलको समापन गर्दै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले यसक्षेत्रको खेलको विकासका लागि खेलकुदमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले सीमित स्रोत र साधनकाबीच पनि कर्णालीमा खेलकुदमा राम्रो भएको भन्दै खेलमैदानको विस्तार गर्नुपर्ने बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेशलाई खेलकुदको क्षेत्रबाट पहिचान गराउने भन्दै अब भौतिक संरचनाहरू निर्माण कार्य सुरु गर्ने बताए । उनले आफूहरू खेलकुद सम्बन्धीको ऐन ल्याउन लागेको भन्दै आउदो आर्थिक वर्षदेखि अन्तरप्रदेशस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताए । समापन कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाका खेलाडी खेलकर्मीलगायत विभिन्न क्षेत्रका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ६ फाल्गुन २०७५, सोमबार १७:०५