ज्यालामा श्रमिकलाई विभेद
साझा बिसौनी संवाददाता
दैलेख, ५ फागुन ।
श्रमिकहरूले श्रम अनुसारको ज्याला नपाएको गुनासो गरेका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कर्णाली प्रदेशले आइतवार दैलेखमा आयोजना गरेको त्रिपक्षीय सामूहिक छलफल कार्यक्रमका सहभागीहरूले यस्तो गुनासो गरेका हुन् ।
कृषि, प्रेस, वित्तीय तथा स्वास्थ्य क्षेत्रमा कार्यरत श्रमिकहरूले आफ्नो श्रमको उचित मूल्यांकन नभएको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । साथै उनीहरूले सरकारले समेत श्रमिकहरूको पक्षमा कुनै काम नगरेको गुनासो गरे ।
जिफन्ट कर्णाली प्रदेश अध्यक्ष तेजप्रकाश जिसीले श्रमिकहरूको पक्षमा काम गर्न सरकारलाई सुझाव दिए । उनले कर्णालीको समृद्धिमा श्रमिकहरूको भूमिका महŒवपूर्ण हुने भन्दै यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरे । राज्यको वर्तमान ऐन, कानुन अनुरूप तत्काल श्रमिकहरूको अधिकारलाई सुनिश्चित गर्नसमेत उनले अनुरोध गरेका छन् ।
श्रमिकले पाउने न्यूनतम पारिश्रमिक, व्यवसायजन्य स्वास्थ्य सुरक्षा, सेवा–सुविधा र सामाजिक सुरक्षाबाट नछुटाउन आव्हान गर्दै श्रमिक सूचीकरण अभियानमा रोजगारदाता र श्रमिकहरूलाई सहभागी हुन अध्यक्ष जिसीको अनुरोध थियो ।
जिफन्ट नारायण नगर कमिटी सचिव पृथबहादुर थापाले श्रमिकको सहभागिता विना कुनै पनि कार्य पूरा नहुने हुँदा तत्काल श्रमिकहरूलाई उचित पारिश्रमिक र सम्मान गरी पेसालाई मर्यादित बनाइ असल श्रम सम्बन्ध बनाउन जरुरी भएको बताए । सरकारले दैनिक ज्याला पाँच सय १७ रूपैयाँ निर्धारण गरी कार्यान्वयनमा आए पनि हाल कृषि क्षेत्रका श्रमिकहरूले तीन सय ६० पाउने गरेको जनाइएको छ ।
छलफलमा श्रमिकहरूका गुनासा सुनेपछि आफ्नो भनाइ राख्दै बागवानी केन्द्र प्रमुख डा. विनोद लुईंटेलले परियोजनामार्फत् आएको बजेट अपुग हुने हुनाले श्रमिकहरूलाई राज्यले तोकेको न्यूनतम वेतन, सेवा सुविधा दिन नसकिएको बताए । प्रमुख लुईंटेलले आ.व. २०७६÷०७७ मा परियोजना लागत बढाइ श्रमिकहरूको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
असल श्रम सम्बन्धको सुरुवात गर्ने उद्देश्यले आयोजित छलफलमा नारायण नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष पूर्णबहादुर मल्लले कृषि क्षेत्रमा पर्याप्त बजेटको अभाव र हुनेखानेले मात्र त्यसको उपभोग गर्ने प्रवृत्तिले ग्रामीणस्तरका कृषकहरू समक्ष योजना नै नपुग्ने बताए । मल्लले कृषि श्रमिकको आधारभूत आवश्यकता पूरा गर्न सकिएन भने सरकारले लिएको नारा नारामा मात्र सीमित हुने जिकिर गरे । बलबहादुर मल्लको अध्यक्षतामा भएको छलफलमा प्रेस, वित्तीय, कृषि र स्वास्थ्य क्षेत्रमा कार्यरत श्रमिकहरूको उपस्थिति रहेको थियो भने सञ्चालन कृष्णबहादुर सुवेदीले गरेका थिए ।
साझा बिसौनी ।