गुणस्तरीय शिक्षा प्रदानमा जोड

सुर्खेत, ५ फागुन । (साबिस)
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले समृद्धिको सपना पूरा गर्न गुणस्तरीय शिक्षा प्रदानमा जोड दिनुपर्ने बताएका छन् । हरेक क्षेत्रमा सीपसहित गुणस्तर हुने हो भने मात्रै मुलुकको विकास सम्भव हुने उनको भनाइ थियो ।
कोपिला भ्याली सेवा समाजको वीरेन्द्रनगर–१ मा निर्माण भएको भवनको आइतवार उद्घाटन गर्दै मन्त्री रावलले यस्तो बताएका हुन् । उनले गुणस्तरीय शिक्षा दिन सके आजका बालबालिकाले नै भोलिको मुलुक समृद्ध बनाउने बताए । गुणस्तरीय र प्राविधिक शिक्षामा सबैले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
समाजकी सञ्चालक अमेरिकी नागरिक म्यागी डोयनले सबैको सहयोगले गर्दा आफूले सुर्खेतमा बसेर काम गर्न सकेको बताइन् । समाजले अनाथ, गरीब बालबालिका तथा असाहाय महिलाहरूको सीप विकास सम्बन्धी काम गरी रहेको जानकारी दिँदै कोपिला भ्याली सेवा समाजका अध्यक्ष टोपबहादुर मल्लले सबैको सहयोगको अपेक्षा गरेको बताए ।
२०६७ सालदेखि स्थापना भएको विद्यालयमा ४५० भन्दा बढी बालबालिका नर्सरीदेखि १२ कक्षासम्म अध्ययन गरिरहेका छन् । समाजले बनाएको नयाँ भवन वातावरण मैत्री, भूकम्प प्रतिरोधी, सौर्य ऊर्जा, बायो ग्याँस, ¥याडम अर्थ आदि प्रविधियुक्त भएको समाजका अध्यक्ष टोपबहादुर मल्लले बताए ।

प्रकाशित मितिः   ६ फाल्गुन २०७५, सोमबार १६:४०