उपत्यका खानेपानी संस्था देशकै उत्कृष्ट
साझा बिसौनी संवाददाता
सुर्खेत, ३ फागुन ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था देशभरको उत्कृष्ट खानेपानी संस्थाको रूपमा पुरस्कृत भएको छ । संस्थाले खानेपानीको संस्थागत सुधार र स्तरोन्नतिलाई रचनात्मक रूपले अगाडि बढाएको भन्दै उत्कृष्ट घोषणा गरिएको हो ।
नगर विकास कोषको आंशिक लागत असुली र सहभागीतामा निर्माण भएका देशैभरीका साना सहरी खानेपानी आयोजनाहरूमध्ये सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था उत्कृष्ट संस्थाको रूपमा छनौट भएको संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए । संस्थाले खानेपानीको संस्थागत सुधार र स्तरोउन्नतिलाई रचनात्मक रूपले अगाडि बढाएको भन्दै उत्कृष्ट घोषणा गरिएको हो ।
कोषको ३१ औं वार्षिक उत्सवको अवसरमा काठमाडांैमा आयोजित कार्यक्रममा सहरी विकास मन्त्री मोहमद
इस्तियाक राईले संस्थाका अध्यक्ष देवकोटालाई उत्कृष्ट संस्थाको रूपमा कदर पत्र प्रदान गरेका थिए । सुर्खेत उपत्यकाको बढ्दो खानेपानी संकट टार्न संस्थाले अल्पकालीन र दीर्घकालीन योजना बनाएर नयाँ आयोजना थप गर्ने, आयोजना छनोट र सर्वे गर्ने लगायतका काम धमाधम गरिरहेको छ । अहिले १७ हजार धारामार्फत् खानेपानी सेवा दिइरहेको संस्थाले अब अल्पकालीन आयोजनाहरू सकिएकाले भेरी नदीको पानी नै उपत्यकाको दीर्घकालीन समस्या समाधानको एकमात्र विकल्प ठानेको छ ।
उपत्यकामा बढ्दो जनसंख्या र घट्दो मुहानका कारण खानेपानीको संकट बढ्दै गएको छ । खानेपानीको दीर्घकालीन संकट टार्न संस्थाले भेरी नदीको पानी लिफ्ट गरेर ल्याउँदै छ । त्यसका लागि विस्तृत अध्ययन समेत गरिसकिएको छ । भेरीको पानी तीन सय ५० लिटर प्रति सेकेण्ड ल्याउन सकिने बताइएको छ । उक्त आयोजनाका लागि कम्तिमा पाँच वर्ष लाग्ने अनुमान गरिएको छ ।
साझा बिसौनी संवाददाता ।