सुर्खेतसहित चार टिम सेमिफाइनलमा

साझा बिसौनी संवाददाता
सुर्खेत, ३ फागुन ।
सुर्खेतको वीरेन्द्रनगरमा जारी मुख्यमन्त्री रनिङ्गशील्ड भलिबल प्रतियोगिताको सेमिफाइलमा सुर्खेतसहित चार टिमले स्थान पक्का गरेका छन् । शुक्रवार क्वाटरफाइनल चरणका खेल सम्पन्न भएसँगै पुरुष र महिला दुवैतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ ।
पुरुषतर्फ सुर्खेत, दैलेख, सल्यान र रुकम पश्चिम सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह चरणको खेलमा जुम्ला र डोल्पालाई हराएको सुर्खेत क्वाटफाइनलमा कालिकोटलाई पराजित गर्दै सेमिफाइलनल यात्रा तय गरेको हो । शुक्रवार क्वाटफाइनलमा कालिकोटलाई २–१ को सेटले हराउदै सुर्खेत फाइनल नजिक पुगेको हो ।
यस्तै सल्यानले जाजरकोटलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइल प्रवेश गरेको छ भने दैलेखले जुम्लालाई २–१ को सेटले पाखा लगाएको छ । यो सँगै साविक कर्णाली अञ्चलका पाँच वटै टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।
यसैबीच महिलातर्फ सुर्खेत, दैलेख, कालिकोट र रुकुम पश्चिमले सेमिफाईनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् । जिल्ला खेलकुद विकास समितिको मैदानमा भएको खेलमा सुर्खेतले सल्यानलाई, कालिकोटले जाजरकोटलाई, रुकुमले जुम्लालाई हराउदै सेमिफाईनलमा पुगेका हुन । शुक्रवार नै हुने भनिएका सेमिफाईनल चरणका खेल बर्षाका कारण शनिवारसम्मका लागि स्थगित गरिएकोे नेपाल भलिवल संघका केन्द्रिय सदस्य मंगल श्रेष्ठले जानकारी दिए । उनका अनुसार शनिवार बिहान ८ बजेबाट सेमिफाईनल र फाईनल चरणका खेलहरू संञ्चालन हुनेछन् ।
प्रतियोगिताको उपाधि विजेताले महिला पुरुष दुवैतर्फ समान एक÷एक लाख रूपैयाँ हात पार्ने छन् । यस्तै उपविजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार हात पार्ने आयोजक सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   ४ फाल्गुन २०७५, शनिबार १६:५९