पचास लाखमा सिँचाइ कुलो
सुर्खेत, ३ फागुन । (साबिस)
पञ्चपुरी–३, सालकोटको लगममा सिँचाइ कुलो शिलान्यास गरिएको छ । सुर्खेत निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद नवराज रावतले शुक्रवार कुलोको शिलान्यास गरेका हुन् । सांसद रावतले स्थानीय विकास साझेदारी कार्यक्रमबाट ५० लाख रूपैयाँ बजेट कुलोको लागि छुट्याएका थिए । सोही बजेटको कुलो निर्माण गर्न लागिएको हो । उक्त सिँचाइ कुलो निर्माण सम्पन्न भएपछि साविक सालकोट लगमका करिब तीन सय घरधुरी किसान लाभान्वित हुनेछन् ।
शिलान्यास गर्दै रावतले विकास निर्माणका काम आफ्नो पहिलो प्राथमिकता रहेकोले जनतालाई उत्साहित हुने गरी काम गर्ने बताए । उनले अबको पाँच वर्षमा उल्लेखनीय विकास गर्ने बताए । आफूले जनताको मर्का बुझ्दै विकासबाट पछाडि परेको, खेती लगाउन सिँचाइ गर्न कठिन ठाउँ छनोट गरी किसानको मर्कालाई बुझ्दै योजना छनौट गरी रकम विनियोजन गरेको भन्दै जनताको उल्लेखनीय सहभागितामा रकम दुरूपयोग नगरी काम गर्न सुझाव दिए ।
साझा बिसौनी संवाददाता ।