माइतीमा सुतेकी धनसराको हत्या
साझा बिसौनी संवाददाता
सुर्खेत, ७ असार
पूर्वी सुर्खेतको जहरेमा एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ । जिल्लाको भेरीगंगा नगरपालिका वडा नं. ३ मा रहेको माइतीमा सुतिरहेकी २८ वर्षीया धनसरा कुमालको हत्या भएको हो । आफ्नै श्रीमान् वीरबहादुर कुमालले सोमवार राती धनसराको घाँटी रेटेर हत्या गरेका हुन् ।
रोजगारीका लागि भारत गएका वीरबहादुर एक साता पहिला मात्र लोदेमा रहेको घरमा आएका थिए । माइतीमा बस्दै आएकी धनसरा एक सातासम्म पनि घरमा फिर्ता नभएको र सम्पर्कमा पनि नआएपछि वीरबहादुर खोजीका लागि सोमवार राती माइतीमा पुगेका थिए । सोही क्रममा माइतीमा रहेका आफन्तहरूसँग सुतिरहेकी धनसरालाई बन्चरोले घाँटी रेटेर उनले हत्या गरेका हुन् ।
दुई छोरी र एक छोराकी आमा धनसरा वैदेशिक रोजगारीमा जाने तयारीमा थिइन् । माइतीका अनुसार उनले पासपोर्ट समेत बनाएकी थिइन् । यही विषयमा दुवै जनाबीच विवाद थियो । आफू भारतबाट घरमा आउँदा पनि घरमा नआएको र माइतीमा पुग्दा समेत अर्कैसँग सम्बन्ध भएको शंकामा आफूले श्रीमतीको हत्या गरेको बयान वीरबहादुरले प्रहरीलाई दिएका छन् । धनसरालाई हत्या गरेर फरार रहेका उनलाई प्रहरीले मंगलवार बिहान मेहेलकुनाबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार उनले हत्यामा प्रयोग गरेको बञ्चरो घटनास्थल नजिकै रहेको तलाउमा फेला परेको छ । श्रीमतीको मृत्यु भएको थाहा पाएपछि वीरबहादुर आफै आत्मसमर्पण गर्न भन्दै प्रहरी चौकीतर्फ जाँदै गर्दा प्रहरीले समातेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले धनसराको सोमवार राती २ बजे हत्या भएको जनाएको छ । माइतीमा सुतिरहेकी उनको हत्या आफ्नै श्रीमान्ले गरेको प्रहरीको भनाइ छ । हत्यामा संलग्न रहेको आशंकामा धनसराका श्रीमान् वीरबहादुरलाई पक्राउ गरिएको र उनले हत्या गरेको स्वीकार गरेको प्रहरीचौकी मेहेलकुनाले जनाएको छ । स्थानीय बासिन्दाका अनुसार पारिवारिक विवादका कारण धनसराको हत्या भएको हुनसक्ने बताएका छन् । प्रहरीले पक्राउ परेका वीरबहादुरलाई मंगलवार अदालतबाट म्याद थप गराएर घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
नक्कली लालपूर्जा बनाउने पक्राउ
नक्कली लालपूर्जा (जग्गाधनी प्रमाणपत्र) बनाउँदै ठगी गरेको आरोपमा सुर्खेतमा एक जना पक्राउ परेका छन् । पीडितको उजुरीको आधारमा प्रहरीले वीरेन्द्रनगरबाट एक जनालाई पक्राउ गरेको हो । सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा वीरेन्द्रनगर–५ निवासी २८ वर्षीय निराजन रानालाई प्रहरीले पक्राउ गरेको हो ।
पीडितले उजुरी दिएपछि रानालाई मंगलवार घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका रानाले एक वर्षअघि दैलेखको खरीगैरा निवासी पवित्रा थापालाई नक्कली लालपूर्जा बनाएर जग्गा बिक्री गरेका थिए । थापाले केही दिन पहिला जग्गाको खोजी गर्दा जग्गा नभेटिएको र मालपोत कार्यालयमा लालपूर्जा देखाउँदा नक्कली भएको रहस्य खुलेको थियो । लालपूर्जा नै नक्कली भएको खुलेपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् ।
सोही उजुरीको आधारमा नै रानालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी बहादुरजंग मल्लका अनुसार रानाले नक्कली लालपूर्जा बनाएको भेटिएको छ । डीएसपी मल्लले भने, ‘नक्कली लालपूर्जा देखाउँदै ठगेको पाइयो, पीडितहरूले न जग्गा पाए न लालपूर्जा ।
जिल्लामा ठूलो गिरोह नै नक्कली धन्दामा सक्रिय रहेको तथ्य फेला पारेका छौं, अब हामी यसमा अप्रेशन गर्दैछौं ।’ उनले सरकारी छाप र दस्तखत किर्ते गरेको मुद्दामा रानालाई कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।
सुर्खेतमा हुँदै नभएको जग्गा देखाउने र नक्कली लालपूर्जा देखाएर सर्वसाधारणलाई ठग्ने गिरोह सक्रिय रहेको प्रहरीको भनाइ छ । डीएसपी मल्लले थपे, ‘किर्ते काममा अरु व्यक्तिहरू पनि संलग्न रहेको सङ्केत मिलेको छ, हामीलाई यसको सूचना पनि प्राप्त भएको छ । हामी अब यसको खोजी गर्छौं ।’ प्रहरीले जिल्लामा अन्य धेरै व्यक्तिहरू पनि नक्कली लालपूर्जामा ठगिएको हुनसक्ने आशंका व्यक्त गरेको छ ।
साझा बिसौनी संवाददाता ।