जवाफ पेश गर्न आदेश

सुर्खेत, ७ असार । (साबिस)
पुनरावेदन अदालत सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा बन्द हड्ताल नगर्न÷नगराउन भन्दै परेको उजुरीमाथि विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । अधिवक्ता रत्नबहादुर भण्डारीले विश्वविद्यालयमा तालाबन्दी, बन्द, हड्ताल आदि गर्न नपाउने गरी आदेश जारी गर्न माग गर्दै दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
भण्डारीले बन्द हड्ताल नगर्न नगराउन र बन्द हड्ताल हुन नदिन माग गर्दै विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी संघ–सङ्गठन, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय विरुद्ध उजुरी गर्दा गराएका हुन् । अदालतले विपक्षीको नाममा निवेदकको माग बमोजिम आदेश जारी गर्नु नपर्ने कारण भए आधार कारण खुलाइ प्रमाण साथै राखी १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको पुनरावेदन अदालत सुर्खेतका निमित्त रजिस्ट्रार डिल्लीराम अर्यालले बताए ।