कारागारका लागि जुट्दै पुस्तक

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ माघ ।
कारागारलाई किताब अभियानका लागि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुर्खेत शाखाले सहयोग गरेको छ । महासंघले राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पूजाको अवसर पारेर आइतवार एक सय भन्दा बढी पुस्तक उक्त अभियानका लागि सहयोग प्रदान गरेको हो ।
महासंघका केन्द्रीय सह–कोषाध्यक्ष कमल नेपाल, केन्द्रीय सदस्य उदिराम डाँगी, कर्णाली प्रदेश सदस्य तथा सुर्खेत जिल्ला उपाध्यक्ष दिलबहादुर थापा, सचिव कृष्णप्रसाद रेग्मीसहितको टोलीले आइतवार अभियानका संयोजक एवम् कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी महेशविक्रम शाहलाई पुस्तक हस्तान्तरण गरेको हो । २६ हजार रूपैयाँ बराबरका एक सय ४३ थान पुस्तक अभियानलाई प्रदान गरिएको महासंघ सुर्खेतका सचिव रेग्मीले जानकारी दिए ।
पुस्तक हस्तान्तरण कार्यक्रममा डीआईजी शाहले कारागारका कैदीबन्दीहरूको जीवनमा सकारात्मक सुधार ल्याउनका लागि पुस्तकालय स्थापना अभियान सञ्चालन गरिएको बताए । उनले सबैको सहयोगमा कर्णाली प्रदेशका सबै जिल्ला कारागारमा पुस्तकालय स्थापना गर्ने योजनासहित अभियान सञ्चालन गरिएको भन्दै पुस्तक सहयोगका लागि महासंघलाई धन्यवाद समेत ज्ञापन गरे ।
कार्यक्रममा महासंघका केन्द्रीय सह–कोषाध्यक्ष कमल नेपालले कारागारलाई सुधारगृहको रूपमा स्थापना गर्नका लागि पुस्तकहरूले महŒवपूर्ण भूमिका खेल्ने भएकाले उक्त अभियानमा महासंघले सहयोग स्वरूप पुस्तकहरू उपलब्ध गराएको बताए । साथै उनले आगामी दिनमा पनि आवश्यक पुस्तक उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
केही समयदेखि सञ्चालित कारागारलाई किताब अभियानका लागि पुस्तक संकलन कार्य जारी छ । हालसम्म दुई हजार भन्दा बढी पुस्तक संकलन भइसकेको अभियानका सह–संयोजक सुशीला श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार आगामी फागुन १२ गते कर्णालीका सबै जिल्ला कारागारहरूमा संकलित पुस्तक हस्तान्तरण गरिनेछ ।

प्रकाशित मितिः   २८ माघ २०७५, सोमबार १४:५०