लगातारको हिमपातले सास्ती
साझा बिसौनी संवाददाता
सुर्खेत, २६ माघ ।
हिउँद सुरु भएयता जुम्ला र डोल्पामा लगातार पाँचौ पटक हिमपात भएको छ । यसैगरी मुगु, हुम्ला, कालिकोट लगायत हिमाली जिल्लाहरूमा पनि यसैगरी पटकपटकको हिमपातले जनजीवन प्रभावित भएको छ ।
हिमाली जिल्लाहरू यतिबेला हिउँले सेताम्मे भएका छन् । डाँडापाखा तथा जंगलहरू पनि हिउँले ढाकिएका छन् । कर्णालीका सदरमुकामदेखि उत्तरी क्षेत्रमा पर्ने उच्च हिमाली भू–भागमा तीनदेखि चार फिटसम्म हिउँ जमेको अनुमान गरिएको छ । लगातार परेको हिमपातका कारण डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा चारदेखि पाँच फिटसम्म हिउँ जमेको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक अभदेश विष्टले बताए ।
हिमपातका कारण सञ्चारका साधनहरू अवरुद्ध भएपछि उपल्लो डोल्पामा पर्ने धो, साल्दाङ, भिजेर, छाका, मुकोट, फोक्सुन्डो लगायतका बस्तीहरू सदमुकामबाट सम्पर्क्विहीन भएको विष्टको भनाइ छ । सदरमुकाम दुनै, जुफाल, त्रिपुराकोटमा दुई फिटसम्म हिउँ जमेको र हिमपात अझै जारी रहेको प्रजिअ भूपेन्द्र थापाले जानकारी दिए । बाक्लो हिउँ जमेका कारणा हिमपहिरो जोखिम उत्तिकै बढेको छ । शुक्रबार दिउँसो मात्रै हिमपहिरो खसेर थुनिएको सुलिगाड खोला विस्तारै सुचारु भएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । हिमपातका कारण उपल्लो डोल्पावासीहरू तुलनात्मक रूपमा थप प्रभावित भएका छन् ।
यस वर्षको पुस र माघमा अहिलेसम्म लगातार पाँचौँ पटकसम्म भारी हिमपात भएको डोल्पाका स्थानीयवासीले बताए । चौथो पटक भएको हिउँ बिलाउन नपाउँदै फेरि हिउँ थपेपछि कर्णालीको जनजीवन अस्तव्यस्त भएको छ । त्यस्तै, रुकुम, जाजरकोटका पश्चिमी क्षेत्रमा समेत भारी हिमपात भएको छ भने हिउँले त्यहाँको जनजीवन पनि कष्टकर बनेको छ । अघिल्ला वर्षहरूमा पुस–माघमा मुस्किलले एक दुईपटक हिमपात हुने गरे तापनि यसवर्ष स्थानीयवासी नै त्रसित हुने गरी हिमपात भएको त्रिपुरासुन्दरी नगरपालिका १ डोल्पाका स्थानीय दुर्गाप्रसाद देवकोटाले बताए । पटक–पटकको हिमपातले कर्णालीमा लगाइएको अन्नबाली उत्पादनका लागि राम्रो हुने भए तापनि बढ्दो चिसोका कारण दैनिक हुने कामकाजसमेत ठप्प भएको देवकोटाले बताए । घरआँगनमै बाक्लो हिउँ जमेकाले भित्रबाहिर गर्न मुस्किल हुनुका
साथै धारा पँधेरामा पुगेर पानी ल्याउन र शौचालय जानसमेत समस्या भएको छ । शुक्रवार रातिदेखि हिमपात सुरु भएको हो । लगातारको हिमपातका कारण कर्णालीको तापक्रम माइनसमा झरेकाले डोल्पालीको जनजीवन अत्यन्तै कष्टकर बनेको छ ।
रातीदेखिको हिमपातका कारण कर्णालीका चारवटै विमानस्थल बन्द भएका छन् । पहिलाको हिउँ बिलाउन नपाउँदै फेरि हिउँ थपिएपछि चारवटै विमानस्थल बन्द भएका हुन् ।
हुम्लाको हिल्सा, मुगुको ताल्चा, जुम्लाको खलङ्गा विमानस्थलको धावनमार्गमै बाक्लो हिउँ जमेका कारण शनिवार नेपालगन्जदेखि कुनै पनि उडान हुन नसक्ने समिट एयर नेपालगन्जले जनाएको छ । लगातारको हिमपातका कारण धावनमार्गमै बाक्लो हिउँ जमेको छ। विमानस्थल अवरुद्ध भएपछि आन्तरिक उडानहरू ठप्प भएका छन् । चौथो पटकको हिमपातका कारण दुई दिनदेखि अवरुद्ध विमानस्थलमा पाँचौं पटक पनि हिउँ थपिएको छ । धावनमार्गमा दुईफिट हिउँ जमेपछि एकसातासम्म हवाई उडान ठप्प हुनसक्ने अनुमान गरिएको नागरिक उडड्यन प्राधिकरण जुफालले जनाएको छ ।
हिमपातका कारण दुई दिनदेखि नेपालगन्जदेखि हुने कुनै पनि उडान हुन सकेको छैन । यात्रुहरू विमानस्थलमै अलपत्र जुफाल विमानस्थल अवरुद्ध भएपछि यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत समस्या भएको छ । ‘डोल्पा जानका लागि तीन दिनदेखि नेपालगन्ज विमानस्थलमै जहाज कुरिरहेका छौं, हिउँले अवरुद्ध भएको विमानस्थल नखुलेका कारण डोल्पा उड्न पाएका छैनौं’ नेपालगन्जमा जहाज कुरिरहेका रमानन्द उपाध्यायले भने, ‘आज फेरि हिउँ थपिएकाले एक सातासम्म जान नपाइने अवस्था छ, तीन दिनअघि लिएको टिकट फिर्ता गरेर पैदलजाने तयारी गर्दैछौं ।’
साझा बिसौनी ।