विद्युतविहीन जुम्ला
साझा बिसौनी संवाददाता
जुम्ला, २३ माघ ।
करिब तीन महिनादेखि जुम्ला सदरमुकाम खलङ्गा विद्युतविहीन बनेको छ । गत मसिंरदेखि सदरमुकाम खलङ्गासहित चन्दननाथ नगरपालिका अन्धकारमय भएको छ ।
लामो समयदेखि विद्युतविहीन भएपछि नागरिकहरू विरोधमा उत्रिएका छन् । बुधवार समावेशी महिला मानवअधिकार सञ्जाल समितिको नेतृत्वमा जुम्लाका महिला अधिकारकर्मीसहितको टोलीले विद्युत माग्दै मैनबत्ती जुलुस गरेका हुन् । उनीहरूले मैनबत्ती बालेर जुलुस गर्दै बजार परिक्रमा गरे । एक हप्ताभित्र नियमित विद्युत आपूर्ति नभएमा संयुक्त आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् ।
साना जलविद्युत उपभोक्ता समिति खलङ्गाको लापारबाहीका कारण उपभोक्ताहरूले चरण लोडसेडिङ्गको मार खेप्नुपरेको हो । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले २४ घण्टाभित्रै समिति तथा सरोकारवालासँग बैठक बसेर विद्युत आपूर्तिको वातावरण बनाउने बताए । भारतीय दूतावासको सहयोगमा नयाँ मेसिन खरिदको बाहानामा समितिले विगत तीन महिना झुलाइसकेको छ । महिनौंदेखि सदरमुकाम अँध्यारो हुँदा जिल्लाले करोडौंको व्यापार घाटा व्यहोर्नु परेको गुनासो स्थानीयले गरेका छन् । बिजुली नहुँदा स्थानीय टुकी, झरो तथा वैकल्पिक ऊर्जाको व्यवस्था गर्न बाध्य छन् ।
विद्युत नहुँदा खलङ्गाका होटल व्यवसाय, व्यापारी, उद्योग कलकारखाना मारमा परेका अधिकारकर्मी लक्ष्मीकन्या बुढाले बताइन् । एसईई र लोकसेवा तयारी कक्षाका लागि सदरमुकाम झरेका झण्डै १० हजार विद्यार्थीको अध्ययन पनि बिजुली अभावमा प्रभावित भएको छ । उपभोक्तालाई विद्युत दिने आश्वासन दिएर समितिले झारो टारिरहेको अधिकाकर्मी भगवती श्रेष्ठले बताइन् । ‘बिजुली नबालेरै बिल तिर्न बाध्य छौं’, उपभोक्ता सीता बुढाले भनिन्, ‘हाम्रो अधिकारमा खेलवाड गर्न पाइदैंन, प्रशासन मौन भएर नबसोस् ।’ उपभोक्ताहरूले पहुँुच भएकाहरूले ‘भीआईपी लाइन’ लिँदा लोडसेडिङ्ग चर्किएको ती लाइन काट्न पनि आग्रह गरेका छन्
साझा बिसौनी संवाददाता ।