कर्णाली पर्यटन महोत्सव हुने

साझा बिसौनी संवाददाता
सुर्खेत, १३ माघ ।
सुर्खेतमा कर्णाली पर्यटन महोत्सव सञ्चालन हुने भएको छ । सुर्खेत चेम्बर अफ कमर्सले महोत्सव आयोजना गर्न लागेको हो ।
आइतवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमार्फत् कमर्सले आगामी फागुन ३ गतेदेखि ११ गतेसम्म महोत्सव गर्न लागेको जनाएको छ । कमर्सका अध्यक्ष चिन्तामणि शर्माले कर्णाली प्रदेशको पर्यटन क्षेत्रको विकास गर्न र प्रदेश सरकारले सञ्चालन गरेको कर्णाली रारा पर्यटन वर्षलाई समेत प्रवद्र्धन गर्न महोत्सव गर्न लागेको बताए ।
महोत्सवमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादित वस्तुहरू, कला, संस्कृतिलाई प्राथमिकता दिने उनले बताए । उनले महोत्सवबाट हुने आम्दानीले वीरेन्द्रनगर बजार क्षेत्रमा नगरपालिकाले उपलब्ध गराएको ठाउँमा सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने जानकारी पनि दिए । करिब दुई लाख दर्शकले मेला अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने अनुमान महोत्सव आयोजकले गरेका छन् ।