समन्वय परिषद्को बैठक आज
साझा बिसौनी संवाददाता
सुर्खेत, १३ माघ ।
कर्णाली प्रदेश समन्वय परिषद्को प्रथम बैठक आज (सोमवार) बस्दैछ । दुई दिनसम्म सञ्चालन हुने बैठक आज बिहान ८ बजेदेखि वीरेन्द्रनगरमा सुरु हुँदैछ ।
परिषद् बैठकमा प्रदेश र स्थानीय तहका योजना, कर प्रणाली, कानुन निर्माण, प्रशासनिक संरचना लगायत प्रदेश र स्थानीय तहबीचका साझा अधिकारहरूका बारेमा छलफल गरिने जनाइएको छ । विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने र त्यसैमा छलफल हुने बताइएको छ ।
प्रदेश समन्वय परिषद्को संयोजकमा मुख्यमन्त्री र सदस्यमा प्रदेश सरकारका मन्त्री, प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश सरकारका सचिव, प्रदेशभित्रका जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, प्रदेशभित्रका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उप–प्रमुख रहने प्रावधान छ भने प्रदेश सरकारको स्थानीय तह हेर्ने मन्त्रालयका सचिव सदस्य–सचिव रहने व्यवस्था छ । उल्लेखित पदाधिकारीका अतिरिक्त प्रदेश सरकारले निमन्त्रणा गरेका आमन्त्रित सहभागी समेत रहनेछन् ।
यसअघि गत असोज १९ र २० गतेका लागि आव्हान गरिएको समन्वय परिषद्को बैठक तयारी अभाव तथा चाडपर्वका कारण स्थगित गरिएको थियो । बैठकको सबै तयारी पूरा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
साझा बिसौनी संवाददाता ।